सोमवार, कार्तिक १०, २०८३ - Mon, October 26, 2026

‘जनतालाई दिने सेवा शिरमा राखेर स्थानीय सरकारले काम गर्नुपर्छ’

‘जनतालाई दिने सेवा शिरमा राखेर स्थानीय सरकारले काम गर्नुपर्छ’

शंखरापुर नगरपालिका काठमाडौं जिल्लाको पूर्वी क्षेत्रमा रहेको एउटा स्थानीय तह हो । यस नगरपालिका विशेषगरी धार्मिक, पर्यटन र कृषि उत्पादनका हिसाबले महत्वपूर्ण क्षेत्रअन्तर्गत पर्दछ । विभिन्न सम्भावनाहरुको खोजी गर्दै विकास र समृद्धिको यात्रामा अग्रसर यस नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा हाल चुरामणि पन्थी कार्यरत हुनुहुन्छ । २०५६ सालबाट नेपालको निजामती सेवामा प्रवेश गर्नुभएका उपसचिव पन्थी कुशलतापूर्वक कार्यसम्पादन गर्न सक्ने खुबी भएका प्रमुख प्रशासकीय अधिकृतको रुपमा चिनिनुहुन्छ । उपसचिव पन्थीसँग शंखरापुर नगरपालिकामा संचालित विकास निर्माणको अवस्था, सुशासन प्रवर्द्धनलगायतका विषयमा केन्द्रित भएर सुरेशराज बरालले गरेको कुराकानी प्रस्तुत छः

  • स्थानीय सरकार भनेपछि आफैंमा नागरिकको सबैभन्दा नजिकको सरकार हो । हामी जहिले पनि जनताप्रति सम्वेदनशिल हुनुपर्छ । शंखरापुर नगरपालिकामा जनतालाई छिटोछरितो र बिना झन्झटिलो सेवा दिन जनप्रतिनिधि र कर्मचारी टिम सबै सम्वेदनशिल छौं । त्यसैअनुरुप सेवा प्रवाहमा लागिरहेका छौं ।
  • शंखरापुरमा अझै पनि थुप्रै ठाउँहरुमा विकासका आवश्यकता छन् । खासगरी यहाँ पूर्वाधारहरुको बढी आवश्यकता छ । अहिले पनि हाम्रो मुख्य प्राथमिकता भनेको पूर्वाधारमै बढी जोड छ । सामाजिक विकास क्षेत्रहरुका साथै रोजगारीका अवसर कसरी सिर्जना गरिन्छ भन्ने विषयहरुमा पनि संवेदनशील भएर पर्यटन पूर्वाधारलगायतका सबै क्षेत्रहरुमा ध्यान पुर्‍याउने गरी बजेटिङ गरेका छौं ।
  • शिक्षाको गुणस्तर वृद्धि गर्न थप शिक्षक व्यवस्थापन र वैकल्पिक शिक्षकको व्यवस्था गरिएको छ । शंखरापुर नगरपालिकाले सबै नागरिकका लागि शतप्रतिशत निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ । नगर अस्पतालको सुदृढीकरणसँगै निःशुल्क सुत्केरी र एम्बुलेन्स सेवा सञ्चालनमा छन् । शिक्षा र स्वास्थ्य मानव विकासको मुख्य खम्बा नै भएकाले नगरपालिकाले त्यसमा दिनुपर्ने जति ध्यान दिएको छ ।
  • नागरिकको सशक्तिकरणका लागि लागि नगरपालिकामा कृषि, पशु, महिला तथा उद्यम विकासलगायतका विभिन्न कार्यक्रम सञ्चालनमा छन् । हामीसँग भएका विकास साझेदारसँग निरन्तर सहकार्य गरिरहेका छौं । त्यस्तै संघ र प्रदेश सरकारसँग सहकार्यमा रोजगारी सिर्जना र क्षमता विकासमा ध्यान दिएका छौं ।
  • हामी कानुनलाई शिरमा राखेर नीति–नियमअनुसार कार्यसम्पादन गर्दै आएका छौं । बेरुजुका तीन प्रकारमध्ये असुल–उपर गर्न सकिने कुरामा बढी ध्यान दिइरहेका छौं । सकेसम्म बेरुजु नआउने अवस्था सिर्जना गर्दै आर्थिक पारदर्शितामा जोड दिएका छौं ।
  • काठमाडौं उपत्यकाभित्र रहेर पनि शंखरापुरका केही वडा अझै विकट अवस्थामा छन् । हामीसँग सीमिति स्रोतसाधन हुँदा ती ठाउँहरुमा अपेक्षाकृतरुपमा विकास गर्न सकिएको छैन, त्यो नै हाम्रो प्रमुख चुनौति हो ।

नागरिकलाई सुशासनसहितको डेलिभरी दिन मातहतका निकायबाट प्रवाह भइरहेको सेवालाई तल्लो तहका नागरिकसम्म पुर्‍याउन प्रशासनिक नेतृत्वका हिसाबले शंखरापुरमा के कस्ता सुधारका प्रयास गरिरहनुभएको छ ?

स्थानीय सरकार भनेपछि आफैंमा नागरिकको सबैभन्दा नजिकको सरकार हो । हामी जहिले पनि जनतालाई दिने सेवा शिरमा राखेर काम गर्नुपर्छ । हामी जनताले तिरेको करबाट तलव भत्ता खाने मान्छे हो । हामी जहिले पनि जनताप्रति सम्वेदनशिल हुनुपर्छ । उहाँहरुलाई कसरी सर्वसुलभ सेवा दिने, कसरी सेवाग्राहीलाई छिटो छरितो बिना झन्झटिलो सेवा दिने भनेर हामी जहिले पनि सोचिरहेका हुन्छौं । जहिले पनि हामी त्यो विषयमा सम्वेदनशिल हुन्छौं । मैले पटक पटक भन्ने गरेको पनि छु मेरो टेबुलमा कहिल्यै पनि फाइल रहँदैन । त्यो मेरो लगभग थेगो नै हो कुनै पनि फाइल टेबुलमा होल्ड गरेर राख्दिन भनेर । त्योअनुसार मैले सबै टिमका व्यक्तिहरुलाई, वडा तहदेखि नगरपालिकामा काम गर्ने सबैलाई म गएको दिनदेखि नै त्यो कुरालाई भनिरहेको छु । त्यसैले शंखरापुर नगरपालिकामा सेवा प्रवाहमा त्यस्तो ढिलासुस्ती, लापरबाहीका कुराहरु भेटिनु हुँदैन । हामीले जतिसक्दो छिटो सर्वसुलभ हिसाबले नागरिकलाई सेवा प्रवाह गर्नुपर्छ भन्ने विषयमा यहाँका नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरु, वडा सदस्यहरुदेखि लिएर नगरका सम्पूर्ण कर्मचारी टिम सबै सम्वेदनशिल छौं । त्यसैअनुरुप सेवा प्रवाहमा लागिरहेका छौं ।

सेवाग्राहीले सहजै सेवा पाउनका लागि डिजिटलाइजेशन वा प्रविधि प्रयोगमा के–कस्ता कामहरू भइरहेका छन् ?

अहिले पछिल्लो समयमा सबै ठाउँका भुक्तानीहरु सूत्रमार्फत हुने गर्छ । सबै ठाउँमा ईएफटीमार्फत भुक्तानीहरु हुने गर्छ । सेवाग्राही जसलाई हामीले भुक्तानी दिनुपर्ने हो उहाँको खातामा तुरुन्तै अहिले त अब एक क्लिक गर्ने वित्तिकै अर्काको खातामा पैसा जाने सिष्टम छ । नागरिकको सहजताका लागि त्योअनुसार हामीले सबै खालका सफ्टवेयर प्रयोग गरेका छौं । अब यो वर्षदेखि सेवाग्राहीहरुले कर पनि आफ्नो घरबाटै तिर्न मिल्ने खालको सिष्टम सरकारले विकास गरिसकेको छ । अब हामी त्यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा लाँदैछौं । अरु अरु विषयहरुमा पनि त्यस्ता खालका सिष्टमहरु हाम्रोमा कार्यान्वयनमा छन् ।

एउटा अनुभवी प्रशासक भएको हिसाबले कार्यसम्पादनका क्रममा शंखरापुर नगरपालिकामा विकासका आवश्यकता र सम्भावनाका साथसाथै चुनौतिहरु के के देख्नुहुन्छ ?

शंखरापुर नगरपालिका काठमाडौं उपत्यकाभित्रै भइकन पनि वास्तवमा यहाँका केही क्षेत्रहरु अहिले पनि विकटै छन् । यहाँका वडा नं. १, २, ३, ४ र ८ का केही भूभागहरु अहिले पनि अलि विकट खालका छन् । हामीसँग सीमिति स्रोतसाधन हुँदाखेरी ती ठाउँहरुमा अपेक्षाकृतरुपमा विकास गर्न सकिएको छैन, त्यो नै हाम्रो प्रमुख चुनौति हो । तर पछिल्लो समयमा विकासले गतिचाहिँ लिइरहेको छ । अबको केही वर्षमा सबै ठाउँहरुमा बाटाघाटाहरु बन्दै छन् त्यसमा हामी आशावादी छौं । हाम्रो मुख्य चुनौति भनेको आर्थिक स्रोत कै हो । आन्तरिक आय कम भएकाले पनि चुनौति देखिएको हो ।

चालु आर्थिक वर्षको बजेटमा शंखरापुर नगरपालिकाले खासगरी कस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ नि ?

हाम्रो अझै पनि थुप्रै ठाउँहरुमा विकासका आवश्यकता छन् । खासगरी यहाँ पूर्वाधारहरुको बढी आवश्यकता छ । अहिले पनि हाम्रो मुख्य प्राथमिकता भनेको पूर्वाधारमै बढी जोड छ । त्यो भनेर पूर्वाधारमा मात्रै पनि जोड दिएका छैनौं । हामीले सामाजिक विकास क्षेत्रहरुका साथै रोजगारीका अवसर कसरी सिर्जना गरिन्छ भन्ने विषयहरुमा संवेदनशील भएर पर्यटन पूर्वाधारलगायतका सबै क्षेत्रहरुमा ध्यान पुर्‍याउने गरी बजेटिङ गरेका छौं ।

शिक्षा र स्वास्थ्यलाई प्रतिस्पर्धी बनाउन नगरपालिकाले के कस्ता प्रयासहरु गरिरहेको छ ?

एउटा पालिकाको विकासका लागि शिक्षा र स्वास्थ्य भनेको महङ्खवपूर्ण विषय हो । यो खर्चिलो विषय पनि हो । एकातिर अलि ठूलो रोग लाग्यो भने नागरिकहरुलाई उपचारै गर्न पनि गाह्रो हुने अवस्था छ भने अर्कोतिर आफ्ना बालबच्चालाई पढाउन पनि त्यतिकै गाह्रो छ । त्यसैले यी विषयमा हामी एकदमै संवेदनशिल भएर लागेका छौं । शंखरापुर नगरपालिकाले यो वर्षदेखि सबै नागरिकका लागि शतप्रतिशत निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ । गत सालसम्म ५० प्रतिशत थियो । यो वर्षदेखि हामीले शतप्रतिशत बीमा कार्यक्रम लागु गरेका छौं ।

शिक्षाको गुणस्तर वृद्धिका लागि विभिन्न किसिमका कार्यक्रमहरु संचालन गरिरहेका छौं भने नगरबाट थप शिक्षकहरुको व्यवस्था गरिएको छ । बाल कक्षाहरुमा पनि थप शिक्षकहरु राखिएको छ । त्यसैगरी अब कर्मचारी, शिक्षकहरु लामो विदामा बस्दाखेरी वैकल्पिक शिक्षकको व्यवस्था पनि गरिएको छ । हाम्रो नगर अस्पताललाई कसरी बढी प्रभावकारी बनाउने भनेर लागि रहेका छौं । सम्भवत यो वर्ष हाम्रो भवन पनि पूरा हुन्छ । अब शिक्षा र स्वास्थ्य मानव विकासको मुख्य खम्बा नै भएकाले नगरपालिकाले दिनुपर्ने जति ध्यान दिएको छ । अहिले पनि निःशुल्क सुत्केरी र एम्बुलेन्स कार्यक्रम संचालनमा छ ।

नागरिकका माग सम्बोधनका नाममा जनप्रतिनिधिहरुले टुक्रे कार्यक्रमहरुमा जोड दिनु एउटा बाध्यता अथवा राजनीतिक उद्देश्य पनि होला । तर पनि स्पष्ट नतिजा नदिने कार्यक्रमहरुलाई निरुत्साहित गर्न जनप्रतिनिधिहरुलाई कत्तिको घच्घच्याउने गर्नुभएको छ नि ?

हामी सकेसम्म अब यो एउटा स्थानीय सरकार भएकाले उसले जनताका आवश्यकताहरुको परिपूर्ति गर्नुपर्छ । कुनै ठाउँमा ५० हजार, एक लाख, दुई लाख खर्च गरेर त्यो काम सम्पन्न हुन्छ भने त्यसको लागि ठूलो रकम विनियोजन गर्ने भन्ने खालको विषय रहँदैन । त्यो बाध्यात्मक अवस्थामा बाहेक अरु नदेखिने खालका अथवा परिणाम नआउने खालका योजना नबनाउने भनेर हामी नगरसभाभन्दा अगाडिका बैठकहरुमा पटक पटक कुरा गरेर एक किसिमको सहमति नै गरेर अब बाध्यात्मक अवस्थामा त २० हजार पनि खर्च गर्नुपर्छ । हैनभने टुक्रे योजनाहरु नबनाउने र सकेसम्म बढीभन्दा बढी प्रतिस्पर्धामा लग्ने खालका योजना बनाउने भन्ने हिसाबमा हाम्रो बजेटिङ भएको छ । हामीले १५ लाखभन्दा माथिका सबै योजनाहरु ठेक्का प्रक्रियाबाटै सम्पन्न गर्ने गर्छौं । अझ यो वर्षको हेर्ने हो भने अधिकांश योजनाहरु त्योभन्दा माथिल्लो लागतका छन् । त्यति हुँदाहुँदै पनि वडा तहहरुमा कतिपय ठाउँमा साना साना कामहरु गर्नुपर्छ । त्यो पुरै नगर्ने भन्ने विषय चाहिँ भएन । अहिले अतिआवश्यकभन्दा बाहेक अति सम्वेदनशिल भएर हामीले बजेट बनाएका छौं ।

पछिल्लो सयम स्थानीय तहका गतिविधिमा नागरिक सहभागिता घट्दै गएको, अपनत्व र संरक्षणमा चासो नदेखिनु एउटा समस्या छ भनिन्छ भने अर्कोतिर उपभोक्ता समितिमा पनि बिचौलिया हावी हुँदै गइरहेको भन्ने कुराले स्थानीय तहको विकासमा के कस्तो बाधा पारिरहेको अनुभूति गरिरहनुभएको छ ?

स्थानीय तहमा यो उपभोक्ता समितिसँग काम गराउने एकदम वैज्ञानिक विधि हो । त्योअनुसार कानुनमा पनि आएको विषय हो । उपभोक्तासँग साझेदारीमा काम गराउँदा स्थानीय साधन स्रोतको प्रयोग हुने र जनताको अपनत्व पनि हुने, आफैंले गरेको कामको आफैंले अपनत्व लिने र भोलि त्यसको मर्मतलगायतका विषयहरुमा पनि उहाँहरु जिम्मेवार हुने, हामीले उहाँहरुलाई हस्तान्तरण गरिसकेपछि उहाँहरु नै जिम्मेवार हुने भन्ने हिसाबले यो अवधारणा आएको हो । यो अवधारणा अत्यन्तै राम्रो पनि हो । त्यति हुँदाहुँदै पनि काहिँकतै साझेदारीका विषयहरुमा, जनश्रमदानका विषयहरुमा पछिल्लो समयमा मान्छेहरु अलि बढी व्यस्त हुने जस्तै अहिले दशैंको बेलाआएको छ । त्यो बेलामा सबै नागरिक जम्मा भएर आफैं बाटो खन्ने अनि समुह मिलेर बाटो सफा गर्ने चलन थियो । अहिले पछिल्लो समयमा भने अब सबै सरकारले गर्छ भन्ने खालको मानसिकतामा केही परिवर्तन भएको हो कि भन्ने अवस्थाचाहिँ देखिएकै हो । उपभोक्ता समितिको अवधारणा अत्यन्त राम्रो विषय हो तर अहिले पछिल्लो समयमा अलिअलि काहिँकतै कमजोरी देखिएका छन् भन्ने कुरा सुनिन्छ ।

आमनागरिकको सशक्तिकरणको लागि आयआर्जन बढाउने सीप विकास, लघु उद्यम प्रवर्द्धन, सहकारी सहयोग र बजार व्यवस्थापनका लागि स्थानीय सरकारले के कस्ता पहल गरिरहेको छ नि ?

हामीसँग थुप्रै खालका कार्यक्रमहरु छन् । त्यस्तै हामीसँग विकास साझेदारहरु पनि छन् । विकास साझेदारहरुसँग पनि हामी निरन्तर सहकार्य गरिरहेका छौं । हाम्रो पालिकामा अलि अगाडि गैरसरकारी संस्थाहरुको वार्षिक समिक्षा भएको थियो । उहाँहरुले वर्षभरीमा के के गर्नुभयो र आगामी कार्यक्रमहरु के के छन् भनेर सबै संस्थाहरुलाई एउटै फोरममा राखेर हामीले छलफल चलाएका थियौं । हाम्रा विषयगत कृषि, पशु, महिला विकासलगायतका शाखाहरु पनि छन् । त्यस्तै उद्यम विकास भन्ने छुट्टै कार्यक्रम नै छ । त्यहीअनुसारको जनशक्ति पनि छ । अब हामी रोजगारी वृद्धिका लागि कसरी यहाँका नागरिकहरुलाई रोजगारी सिर्जना गर्ने र कसरी उहाँहरुको क्षमता वृद्धि गर्ने भन्ने विषयमा सम्वेदनशील छौं । विकास साझेदारहरुसँग सहकार्य गरिरहेका छौं । संघ र प्रदेश सरकारका कार्यक्रमहरु पनि छन् । हाम्रै पनि कार्यक्रमहरु छन् । ती सबैलाई मिलाएर कुन सेक्टरमा को जाने भन्ने हिसाबले छलफल गरेर अगाडि बढिरहेका छौं ।

योजना कार्यान्वयन प्रक्रियामा सामाजिक समावेशिता र बढीभन्दा बढी नागरिक सहभागिताको सुनिश्चितताको लागि के कस्ता प्रयासहरु भइरहेका छन् नि ?

हामीले निरन्तरुपमा नागरिकहरुको सामिप्यतामा रहेर कार्यक्रमहरु संचालन गरिरहेका छौं । हाम्रा नागरिकको गुनासाहरु सुन्नका लागि त्रैमासिकरुपमा निरन्तर सार्वजनिक सुनुवाइ र अरु छलफलका विभिन्न कार्यक्रमहरु, उहाँहरुको क्षमता वृद्धिका लागि कानुनी साक्षरताका विषयहरु, सीप विकासका कुराहरु, नेतृत्व विकासका विषयहरुमा हामीले तालिमहरु संचालन र त्यसका लागि छलफल पनि चलाइरहेका छौं । नागरिकका मागअनुसारका कार्यक्रमहरु लैजान हामी प्रतिवद्ध र प्रयत्नशील छौं ।

स्थानीय तहहरुमा वर्षेनी बेरुजु र आर्थिक पारदर्शिताका सवालमा ओभरसाइट एजेन्सीहरुले प्रश्न उठाइरहँदा सामाजिक जवाफदेहिताको लागि प्रशासनिक नेतृत्व हिसाबले कत्तिको सजगता अपनाउने गर्नुभएको छ ?

हामीले जहिले पनि कानुनलाई आफ्नो शिरमा राखेर कार्यसम्पादन गर्ने हो । कानुन अनुसारका काम गर्ने हो । अब कतिपय बेरुजुका विषयहरु कहिलेकाहिँ ठ्याक्कै हाम्रो बसमा पनि हुँदैनन् । हामीले एक किसिमले बजेटहरु बनाएको हुन्छ तर केन्द्र र प्रदेश सरकारबाट आउने बजेटहरु समयमा नआइदिँदा अनि अर्को वर्ष भुक्तानी दिनुपर्ने हुन्छ । त्यस्ता कुराहरु पनि नीतिगत बेरुजुको रुपमा आएका हुन्छन् । बेरुजु भन्ने बित्तिकै त्यो सैद्धान्तिक बेरुजुको विषय भयो । मिलान गर्नुपर्ने बेरुजु भयो, असुल उपर गर्नुपर्ने बेरुजु भयो । बेरुजु पनि तीन किसिमका हुन्छन् । तर सैद्धान्तिकरुपमा देखिएको बेरुजुहरुलाई पनि एउटा नकारात्मक पक्ष देखाएर यहाँ यस्तो बेरुजु, त्यहाँ यस्तो भयो भनेर गाली गर्ने प्रचलन अलि बढी छ । त्यो भएर एकदम भयावह हो कि भन्ने जस्तो देखिन्छ । तर बेरुजु भनेको खासमा असुल उपर गर्न सकिने बेरुजु हुन्छन् । त्यस्तो खालको बेरुजुमा हामीले बढी जोड गर्ने हो । अरु कुराहरुलाई हामीले क्रमशः बेरुजु आउँदै नआउने गरी स्थिति खडा गर्ने हो । हामी जहिले पनि कर्मचारीहरु त्यस्ता विषयमा एकदमै सम्वेदनशील हुन्छौं । हामी सकेसम्म बेरुजु आउँदै नआउने हिसाबले काम गरिरहेका छौं । आर्थिक पारदर्शिताका हिसाबमा हामी नीति, नियम र विधिअनुसार नै चल्ने भएको हुँदा आर्थिक अपचलन हुने भन्ने त्यो पनि सम्भावना हुँदैन ।

स्थानीय तहमै रहेर लामो समयदेखि कार्यसम्पादन गरिरहँदा स्थानीय सरकारको सेवा प्रवाहमा जे जस्ता समस्याहरु देख्नुभयो, भोग्नुभयो त्यसको सुधारका लागि व्यक्तिगतरुपमा के सुझाब दिनुहुन्छ ?

जनताको सबैभन्दा नजिकको सरकार, यो भनेको जनता सिधै ठोकिने सरकार पनि हो स्थानीय सरकार । त्यसो हुँदा केन्द्र र प्रदेशका कार्यक्रमहरु पनि समयमा सम्पन्न भएनन् भने त्यो आएर स्थानीय सरकारसँगै ठोकिन्छ । जस्तै एउटा बाटो बन्दै छ त्यो बाटो समयमा बनेन भने त्यो कसको बजेट हो भनेर त्यसमा नागरिकले चासो दिँदैन । बाटो बनेन भने नागरिकले दुःख पाउने भयो । अनि उहाँहरु आएर ठोक्किने भनेको स्थानीय तहमै हो । जनताको नजिक रहने भएको भएर पनि सबै विषयहरु स्थानीय सरकारसँग आएर ठोकिन्छन् । तिनलाई सम्बोधन गर्नुपर्ने हुन्छ । कहिले कहिले अप्ठ्यारा स्थितिहरु पनि आउँछन् । जनताका माग पनि एकदम बढी हुन्छन् । हामीसँग स्रोतसाधन एकदम कम हुन्छ । स्रोतसाधन कम हुँदा जनताले अपेक्षा गरेका जति सबै मागहरु पूरा गर्न सकिँदैन । नागरिकको त्यो गुनासो पनि रहिरहन्छ । तर त्यति हुँदाहुँदै पनि हिजो कोभिडको समयदेखि लिएर विपद्का विषयहरुमा स्थानीय तहहरु एकदम क्रियाशिल भएकै कारणले गर्दाखेरी ठूला ठूला घटनाहरुबाट पार पाउन सक्यौं भने यस्ता यस्ता चुनौतिहरु स्थानीय सरकारसँग धेरै छन् । सबै विषय गएर स्रोतसाधनमै जोडिन्छ । आन्तरिक आय नभएका पालिकाहरुलाई यी सबै विषयहरु व्यवस्थापन गर्न कठिन छ । तर त्यति हुँदाहुँदै पनि संघ र प्रदेश सरकार हामीसँगै छन् । जसले काम गर्ने भने पनि आखिर भूगोल त त्यही हो । उताका कार्यक्रमहरु पनि त्यहिँ जाने भएको हुँदा अब तीन तहबीच सहकार्य गर्दै अगाडि बढियो भने त्यस्तो गाह्रो केही छैन ।

– प्रशासनिक सरोकार मासिकको प्रिन्ट संस्करणबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *