बुधबार, साउन १३, २०८३ - Wed, July 29, 2026

नेपालको भू–अर्थ राजनीति र भूराजनीतिक सन्तुलन

नेपालको भू–अर्थ राजनीति र भूराजनीतिक सन्तुलन

विषय सन्दर्भ
अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा भौगोलिक प्रभावको अध्ययनलाई भू–अर्थ राजनीति अध्ययन भनिन्छ । यो अर्थ राजनीतिक भूगोलको एउटा सिद्धान्त हो । सबैसँग मित्रता कसैसँग छैन शत्रुताको मर्म अनुरुप नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभको आधारमा छिमेकी लगायत अन्य मुलुकहरुसँगको सम्वन्धलाई सुदृढ र विस्तार गर्नुपर्दछ । छिमेकी मित्र राष्ट्र, दक्षिण एशियाली मुलुक, प्रमुख शक्ति राष्ट्र, विकास साझेदार लगायत सबै राष्टहरुसँग नेपालको सम्वन्ध मैत्रीपुर्ण एवं सहयोगात्मक हुनुपर्दछ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राट्रियता, स्वाधिनता, स्वाभिमान, नेपाली हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धिलाई राष्ट्रिय हितको आधारभुत विषयको रुपमा राख्नु पर्दछ । विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्ने दिशामा नेपालको भूराजनीतिको उपयोग गर्नुपर्दछ ।

नेपालको भूराजनीतिको अवस्था
नेपालको अवस्थिति उत्तरमा चीनको तिब्बती पठार, खासगरी हिन्दकुसदेखि बर्मासम्म फैलिएको हिमालय शृंखलाको बीच हुँदै दक्षिण एसियाको ठूलो समतल भूभागसम्म जोडिन पुगेको छ । नेपाल, चीन र भारत जस्ता एशियाका ठूला र उदीयमान शक्तिराष्ट्रको बीचमा अवस्थित छ। नेपालको भूगोल चीनसँग करीब १४०० किलोमिटर र भारतसँग करीब १८०० किलोमिटर जोडिएको छ । भूगोल बदलिंदैन तर अर्थ–राजनीतिमा भने परिवर्तन आइरहन्छ । चीन र भारत दुवै मुलुक विश्वमा आर्थिक र सामरिक दृष्टिकोणले उदाउँदा शक्ति राष्ट्रहरूका रुपमा विकसित हुँदै गएको अवस्था विधमान छ । यसको बीचमा नेपाल जस्तो विविध विविधताले भरिपूर्ण भएको सुन्दर मुलुक रहेको छ । एक हिसाबले दुई उदाउँदा शक्ति राष्ट्रहरुको बीचमा नेपालको भूगोल सामरिक र रणनीतिक महत्वको रुपमा रहेको छ ।

नेपालको भूराजनीतिक अवस्था जटिल र संवेदनशील छ, जहाँ विभिन्न भूराजनीतिक कारकहरूको प्रभाव छ । नेपालको भौगोलिक स्थिति चीन र भारतजस्ता दुई ठूला शक्ति राष्ट्रहरूको बीचमा छ, जसले नेपालको परराष्ट्र नीति र भूराजनीतिक परिप्रेक्ष्यलाई प्रभाव पार्दछ । नेपालले सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिको पालन गर्दै आफ्नो राष्ट्रिय हितलाई सर्वोत्तम तरिकामा संरक्षण गर्न कोशिष गरिरहेको छ ।

नेपालको भूराजनीतिक अवस्थाको एक प्रमुख विशेषता यसको भू–राजनीतिक अवस्थिति हो, जसले नेपाललाई एक पुलको रूपमा कार्य गर्न सम्भावित बनाउँछ । भारत र चीनको बीचमा स्थित रहेको नेपालले दुईवटै देशसँग ऐतिहासिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध राख्दछ । भारतसँगको आर्थिक र सांस्कृतिक सम्बन्ध भए तापनि, चीनसँगको सीमा साझा रहेको नेपालले आफ्नो भूराजनीतिक परिप्रेक्ष्यलाई सन्तुलित राख्न प्रयास गर्दछ ।

भौगोलिक हिसाबले चीनतर्फको नेपालको सिमाना उच्च हिमाली क्षेत्र रहेको, नेपाल र चीनको बीचमा भिसा प्रणाली लागू भएको हुँदा खुला आवतजावत र व्यापार तुलनात्मक रूपमा केही कठिन छ भने भारततर्फको सिमानामा दक्षिणतर्फ समतल भूभाग रहेको, खुला सिमाना र आवतजावत हुने व्यापारिक नाकाहरु धेरै रहेको, रोजगारीको लागि दुवै देशतर्फ श्रमिकहरूको आवागमन हुने गरेको, धर्म, संस्कृति र राजनीतिक प्रणालीमा समेत धेरै हदसम्म समानता रहेको अवस्था विधमान छ । यो सामीप्यता भित्र त्रिदेशीय भू–राजनीति र अर्थ–राजनीतिले विभिन्न ऐतिहासिक कालखण्डमा एकता, संघर्ष, सहकार्य र प्रतिस्पर्धाका चरणहरू राजनीति, कूटनीतिक र व्यापारिक आयामहरुमा पार गर्दै आएका छन् ।

नेपालको भूगोलफ्को हिसाबले झन्डै एकतिहाइ भूभाग तिब्बतीय पठारको अंग पनि छ । जनसांख्यिक हिसाबले ठुलो जनसंख्या दक्षिणपट्टि ढल्किएको अवस्था छ । त्यो कारणले गर्दा भारत र चीनबीच नेपालको भू–अर्थ राजनीति ऐतिहासिक रूपले अलि दक्षिणतिर फर्किएकै हो । सँगसँगै हाम्रो आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध दक्षिणतिर बढी ढल्किन पुगे । खासगरी सुगौली–सन्धियता देशभित्रको जहाँनिया निरंकुश राजनीतिक प्रणालीले गर्दा हाम्रा सम्बन्ध दक्षिणमा मात्रै निर्भर हुन पुगे । पछिल्लो चरणमा उत्तरतर्फ थोरै नाका र आर्थिक सम्बन्ध विस्तार गर्न खोजे पनि व्यवहारतः अझै दक्षिणतिर ढल्किरहेको अवस्था छ । हाम्रो छिमेकी सम्बन्ध उत्तर र दक्षिणको समदूरीमा नभई दक्षिणपट्टि नै ढल्किँदै आएको कारणले गर्दा विगतमा पटक–पटक नाकाबन्दीजस्ता दुःखद घटना व्यहोर्नुपर्ने अवस्था, व्यापार घाटा धान्नै नसक्ने गरी चुलिँदै गएको अवस्था र राजनीतिक रूपले पनि अक्सर असहजता कायम रहेको अवस्था छ । दुईवटा छिमेकीबीच रहेको यो अप्ठ्यारोपन व्यवस्थापन गर्न ऐतिहासिक रूपले हामीलाई निकै कठिनाइ पर्दै आएको छ । नेपालको तत्कालीन सन्दर्भमा उदीयमान शक्तिराष्ट्रका रूपमा रहेका चीन र भारत तथा पहिल्यैदेखि महाशक्ति रहेको अमेरिका, यी तीनवटा पक्षको द्वन्द्व र चासोले निकै महत्व राख्छ ।

नेपालको भूराजनीतिका चुनौतिहरु
वर्तमान अवस्थामा हाम्रो राजनीतिक, सामाजिक र आर्थिक केन्द्रहरू कमजोर भएर गएका छन् र हामी बाध्यतावश पनि बाह्य शक्तिहरूको स्वार्थ अनुसार प्रयोग भएका छौँ । पछिल्ला दिनहरुमा नेपालमा विदेशीहरुको अत्याधिक चलखेल बढेको अवस्था विद्यमान छ । हाम्रो समाज र राजनीतिमा आएको अप्ठ्यारो परिस्थितिको चालको गतिविधिहरुवारे विदेशिहरु जानकार रहेको विदेश नीतिका जानकारहरु बताउँछन् । राजनीतिक अस्थिरताले हाम्रा नजिक र टाढाका छिमेकीले आफ्नो हिसाबले राजनीति तथा अन्य क्षेत्रमा सूक्ष्म व्यवस्थापनदेखि व्यापक व्यवस्थापनको रणनीति अख्तियार गर्दै आएका छन् । हाम्रो आन्तरिक राजनीतिको अस्थिरताको परिस्थिति र आफ्ना कमजोरीहरू लुकाउन हामी धेरै हदसम्म अरूलाई दोष लगाउँछौँ । राजनीतिक स्वार्थसिद्ध गर्नका लागि सस्तो लोकप्रियताको बाटो अपनाउँछौँ । यस्तो काल्पनिक प्रवृत्तिले कृत्रिम भू–राजनीतिक तरंगको निर्माण गर्छ र आमजनतालाई सही र गलत छुट्याउनै अप्ठ्यारो हुन्छ ।

नेपालको भूराजनीतिक स्थिति एकै समय अवसर र चुनौतीको मिश्रण हो । नेपाल, भारत र चीन बीचको कडीको रूपमा रहेकोले, यसका भूराजनीतिक सम्बन्धहरू प्रभावशाली छन्। यद्यपि, समयसमयमा यी दुई राष्ट्रहरूको प्रतिस्पर्धा र भिन्न राजनीतिक सोचले नेपालको स्थिति जटिल बनाउँछ। नेपालले दुवै देशसँग समान दूरीमा रहनुपर्ने चुनौती भोगिरहेको छ । नेपालसँग भारत र चीनसँग सीमासम्बन्धी विवादहरू रहेका छन् । भारतसँगको कालापानी, लिपुलेख, र लिम्पियाधुरा क्षेत्रको विवाद र चीनसँगको तिब्बत सीमा क्षेत्रको विवादले नेपालको भूराजनीतिक स्थिति तनावपूर्ण बनाउँछ । नेपालको आर्थिक परनिर्भरता भारत र चीनमा अत्यधिक छ । यसको परिणामस्वरूप, नेपालको आर्थिक नीति र रणनीतिहरू प्रायः बाह्य शक्तिहरूसँगको सम्बन्धमा आधारित हुन्छ, जसले नेपालको स्वाधीनता र विकासमा बाधा पुर्याउँछ । नेपालले चीन र भारतसँगको सम्बन्धलाई सन्तुलित राख्नुपर्ने दबाब छ । यद्यपि, नेपालको सीमित भौतिक र कूटनीतिक स्रोतले यस कार्यमा चुनौती पुर्याउँछ । यसरी, नेपालको भूराजनीतिक चुनौतीहरूको समाधान सामरिक कूटनीति, द्विपक्षीय समझदारी र आन्तरिक सशक्तिकरणमा निर्भर गर्दछ ।

नेपालको भूराजनीतिका अवसरहरु
भू–अर्थ राजनीति चुनौती मात्र होइन, आर्थिक अवसर पनि हो । समकालीन अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थितिमा तीव्र परिवर्तन भई विश्वको शक्ति सन्तुलनमा वद्लाव देखापरेको छ । नेपालको भूराजनीति विविध अवसरहरूको स्रोत हो, जुन देशको रणनीतिक अवस्थिति, प्राकृतिक सम्पदा र भूराजनीतिक सञ्जालको कारण उत्पन्न हुन्छ । नेपाल एशिया महादेशको महत्वपूर्ण स्थलमा स्थित छ, जसले भारत र चीन जस्ता शक्ति राष्ट्रहरूको बीचको कडीको रूपमा कार्य गर्दछ। यसको भूराजनीतिक स्थिति नेपालको लागि विभिन्न अवसरहरूको सृजन गर्दछ ।

पहिलो अवसर भनेको नेपालको भौगोलिक अवस्थिति हो, जसले यसको रणनीतिक महत्त्वलाई थप महत्वपूर्ण बनाउँछ । नेपाल चीन र भारत बीचको स्थितिमा रहेकोले, यो देश दुवैको लागि व्यापारिक र साङ्गठनिक नीतिहरूमा मध्यस्थको रूपमा कार्य गर्न सक्षम छ । नेपाल चीनसँग ‘बेल्ट एन्ड रोड इनिसिएटिव’ (बिआरआई) जस्ता परियोजनामा संलग्न भइरहेको छ भने भारतसँग सन्धि र व्यापारिक सहयोगको अवसरहरू छन् ।

दोश्रो अवसर भनेको नेपालको प्राकृतिक सम्पदा र पर्यटन क्षेत्र हो । नेपालको हिमालय पर्वत, कर्णाली नदी, ऐतिहासिक स्थल र विविध जैविक विविधता एक ठूलो पर्यटन आकर्षणका रूपमा परिचित छन् । यसका कारण नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख गन्तव्य बनाउने अवसर छ, जसले अर्थतन्त्रलाई वृद्धि दिनेछ ।

तेश्रो अवसर भनेको नेपालको जलस्रोत हो । नेपालमा प्रचुर जलविधि र जलविद्युत् उत्पादनको क्षमता छ । नेपालले आफ्नो जलस्रोतको सदुपयोग गर्दै अन्य देशहरूलाई ऊर्जा निर्यात गर्न सक्ने क्षमता राख्छ, जसले नेपालको ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सक्छ ।

मुलुकले हाँसिल गरेको राजनीतिक स्थायित्व, लोकतन्त्र, दिगो शान्ति र विकासको नयाँ परिवेशमा राष्ट्रिय हित र परराष्ट्र नीतिका सम्वन्ध्मा स्पष्ट मार्गदर्शन प्राप्त भएकाले नेपाललाई भूराजनीतिको सदुपयोग गर्ने पर्याप्त अवसरहरु रहेका छन् । त्यसैगरी भूराजनीतिको सदुपयोगवाट नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय सुरक्षा र एकतालाई अक्षुण राख्दै सबल, समुन्नत, शान्तिपुर्ण र परिस्कृत राष्ट्र निमार्णमा योगदान पुरयाउन सक्ने अवसर प्राप्त भएको छ । भूराजनीतिलाई प्रभावकारी रुपमा उपयोग गर्नसकेमा नेपालका लागि यो अवसर बन्न सक्दछ । नेपालको भूराजनीतिक स्थितिले अर्थतन्त्र, व्यापार, पर्यटन र ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण अवसरहरूको सृजन गरेको छ, जसको सही प्रयोगले समृद्धि र विकासमा योगदान पुर्याउन सक्छ ।

नेपालले भूराजनीतिको सन्दर्भमा आगामी दिनमा गर्नु पर्ने कार्य दिशा
नेपालको भूराजनीतिक स्थिति विश्वका प्रमुख शक्तिहरूसँगको सीमामा छ जसले यसको सुरक्षा र कूटनीतिक निर्णयहरूमा ठूलो प्रभाव पुर्याउँछ । नेपालको प्राथमिक चुनौती भनेको आफ्नो कूटनीतिक सन्तुलन कायम राख्नु हो। भारत र चीनसँगको सीमा र सांस्कृतिक नाताले नेपाललाई यी दुई शक्तिहरूसँग मिलेर काम गर्न बाध्य बनाउँछ । नेपालले भारत र चीनसँग मित्रवत् र समान सम्बन्ध राखेर आर्थिक र सुरक्षा अवसरहरूको उपयोग गर्नुपर्नेछ । त्यस्तै, पश्चिमी राष्ट्रहरूसँग पनि व्यापारिक र कूटनीतिक सञ्जाललाई सुदृढ गर्न आवश्यक रहेको छ ।

नेपालले आफ्नो भूराजनीतिक शक्ति बढाउन आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने हुन्छ । विदेश सहयोगमा निर्भर रहनुको सट्टा, नेपालले आफ्नो आन्तरिक उत्पादन र व्यापारलाई वृद्धि गर्दै आत्मनिर्भरता हासिल गर्नुपर्नेछ । नेपालले विशेष गरी, ऊर्जा, कृषि, र पर्यटन क्षेत्रका अवसरहरूमा भारत र चीनसँगको व्यापारलाई प्रवद्र्धन गर्दै, नेपालले दुवै मुलुकसँग आफ्ना व्यापारिक सम्बन्धहरूलाई अझ मजबुत बनाउन आवश्यक छ ।

नेपाललाई आफ्नो राष्ट्रिय सुरक्षा र भू–राजनीतिक स्थिति थप मजबुत बनाउन परिपक्व रणनीतिक दृष्टिकोण अपनाउन आवश्यक छ । भारत र चीनसँगको सीमा विवाद र सिमा सुरक्षा नेपालका लागि महत्त्वपूर्ण विषयहरू हुन्। नेपालले आफ्ना सुरक्षा संरचनामा सुधार गर्दै, समर्पित सुरक्षा बल र संयुक्त तालमेलमा काम गर्ने आवश्यकता छ । नेपालले सामरिक दृष्टिकोणले आत्मनिर्भर सुरक्षा नीतिहरू पनि विकास गर्नुपर्नेछ ।

नेपालले संयुक्त राष्ट्र संघ जस्ता अन्तर्राष्ट्रिय संस्थामा सक्रिय रहन आवश्यक छ, जसले नेपालको कूटनीतिक प्रभावलाई विश्वव्यापी रूपमा बढाउँछ र नेपाललाई मानव अधिकार, विकास र जलवायु परिवर्तन जस्ता वैश्विक मुद्दामा प्रमुख भूमिका प्रदान गर्छ । नेपालले आफ्नो निष्कलंक कूटनीतिक छविलाई प्रयोग गरेर अन्तर्राष्ट्रिय समाजसँगको सम्बन्धलाई सुदृढ गर्न सक्छ ।

चीनसँगको सम्बन्ध विस्तार गर्दै जानेतर्फ नेपालले ध्यान दिनुपर्छ। हालको दुईवटा मुख्य सडकमार्गलाई विस्तार गर्दै चीनसँगको आर्थिक सम्बन्धलाई प्रगाढ बनाउन प्राथमिकता दिनु आवश्यक छ । चीनसँगको भौतिक सञ्जाल विस्तारले नेपाललाई विकासको लाभ पुर्याउन सक्छ । तर, भारतको विकल्प बन्न नसक्ने यथार्थलाई पनि ध्यानमा राख्नुपर्छ।नेपालले विश्वशान्ति र भाइचारा प्रवद्र्धन गर्ने नीति अपनाउनु पर्छ । आन्तरिक राजनीति बलियो बनाएर र संघीयता र समावेशी लोकतन्त्रको आधारमा राष्ट्रिय एकता र शान्ति कायम गर्दा मात्रै अन्तर्राष्ट्रिय भूमिकामा प्रभावकारी रूपमा कार्य गर्न सकिन्छ ।

अर्थतन्त्रको दिगो रूपान्तरणमा ध्यान दिनु पर्नेछ । स्वदेशी र विदेशी पुँजी र प्रविधि परिचालन गरेर औद्योगिकीकरणमा लगानी गर्न र नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने दिशा अपनाउनु पर्छ । यसले नेपालको परनिर्भरतालाई अन्तरनिर्भरतालाई बदल्न मद्दत पुर्याउँछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिलाई हामीले गुणात्मक ढंगले बदल्नुपर्छ । हाम्रो जस्तो सानो देशले ठूला शक्ति राष्ट्रलाई कूटनीतिक सन्तुलन मात्र मिलाएर अगाडि बढ्छु भन्नु सिद्धान्ततः ठीक भए पनि व्यवहारतः त्यो सम्भव हुँदैन । विश्वशान्ति र अन्तर्राष्ट्रिय भाइचाराको एउटा अंगका रूपमा नेपाललाई नयाँ ढंगले चिनाउनु पर्दछ । सरकारले बहुपक्षीय तथा द्विपक्षीय वैदेशिक ऋण,अनुदान तथा सहायता लिँदा राष्ट्रिय स्वार्थलाई माथि राखेर मात्रै लिनुपर्दछ । बहुपक्षीय तथा द्विपक्षीय ऋण तथा सहायता दिने दातृराष्ट्र तथा निकायले अनेक सर्त राख्ने भएकाले राष्ट्रहितलाई सर्वोपरी ठानेर मात्रै सर्त मान्नु पर्दछ । राष्ट्रको भू–राजनीति र सुरक्षालाई असर पर्ने गरी वैदेशिक ऋण तथा अनुदान लिन हुँदैन । राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर मात्रै वैदेशिक लगानी लिनुपर्ने हुन्छ । सरकारले बहुपक्षीय तथा द्विपक्षीय वैदेशिक लगानी ल्याउँदा जिटुजी मोडलमा ल्याउन सके मुलुकलाई धेरै फाइदा पुग्ने देखिन्छ । वैदेशिक लगानीको साथसाथै मुलुकभित्रै स्वदेशी पुँजी जुटाउनेतर्फ अघि बढ्नुपर्दछ ।

नेपालले घरेलु होस् वा अन्तर्राष्ट्रिय सम्बन्धबारे सोच्दा आफ्ना निकटतम आवश्यकताको औचित्य निक्र्योल गर्नुपर्नेछ । आदर्शवादी रटानलाई भविष्यको यथार्थवादी आकलनद्वारा प्रतिस्थापित गर्नुपर्छ । ऋण र निम्छरो अनुदानभन्दा लगानीमार्फत विकास आकर्षित तथा प्रोत्साहित गर्न सकिन्छ । यसका लागि नजिकै तथा केही टाढासम्मका छिमेकीहरूलाई झमेलामुक्त नाफामुखी प्याकेजहरूद्वारा आकर्षित गर्न सकिनेछ । सहयोग तथा सहकार्य कुनै पनि प्रकारले देशको सार्वभौमिकतासँगको सम्झौताबाट भन्दा पनि राज्यको स्वायत्तता अक्षुण्ण राख्दै रचनात्मक विधिद्वारा हासिल गरिनुपर्दछ । व्यापार, सहायता र लगानी व्यापारिक तन्तुका उच्च राजनीतिक मामिला भएकाले यो चतुर कूटनीतिबाट व्यवस्थित गर्न सकिन्छ । भू–आर्थिक संभाव्यता सम्बन्धका आर्थिक आयामहरूको विस्तार निम्ति खोजिनुपर्दछ । अनि, सम्बन्धलाई मजबूत पार्दै राष्ट्रिय सुरक्षा उपरका भू–आर्थिक खतरालाई कमजोर पार्न सक्नुपर्छ ।

निष्कर्ष
नेपालले आफ्नो भूराजनीतिक स्थिति र कूटनीतिक नीतिलाई सन्तुलित र स्वतन्त्र राख्दै परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ । नेपालले संयुक्त राष्ट्र संघको वडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर छिमेकी र मित्र राष्ट्रहरूबाट अधिकतम सहयोग र समर्थन प्राप्त गर्नुपर्नेछ । भूराजनीतिक फाइदा उठाउँदै नेपालले औद्योगिकीकरण, ऊर्जा, खाद्यान्न, पर्यटन, खनिज र जनसांख्यिक लाभहरूको सही उपयोग गर्दै कूटनीतिक कौशलतासँग आफ्नो समग्र राष्ट्रिय हितलाई प्रवर्द्धन गर्न सक्छ ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *