‘स्थानीय तह स्वायत्त भनिए पनि स्रोत र अधिकारमा घेराबन्दी छ’
कमलामाई नगरपालिका सिन्धुली जिल्लाको ऐतिहासिक महत्व बोकेको एउटा स्थानीय तह हो । नेपालमा संघीयता कार्यान्वयनसँगै स्थानीय तहको दोस्रो कार्यकालका लागि २०७९ सालमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका उपेन्द्रकुमार पोखरेलले अहिले यस नगरपालिकाको नेतृत्व गरिरहनुभएको छ । उहाँ नेपाली कांग्रेस सिन्धुलीको बहालवाला सभापतिसमेत हुनुहुन्छ । जिल्ला सदरमुकामसमेत यसै नगरपालिकाभित्र पर्ने भएकाले यहाँको विकासले विशेष महत्व राख्छ । नागरिकका लागि स्थानीय तह राज्यको सबैभन्दा नजिकको, छिटो प्रतिक्रिया दिने र प्रत्यक्षरूपमा अनुभूत गर्न सकिने संरचना पनि हो । यस अर्थमा स्थानीय तहहरू संघीय शासनको मूर्त प्रतिनिधीमात्र होइनन्, नागरिक–सरकार सम्बन्धको जीवन्त स्वरूप पनि हुन् । लामो समयदेखि सामाजिक सेवामा सक्रिय नगर प्रमुख पोखरेलसँग कमलामाई नगरपालिकाको विकासका लागि कार्यकालको ४ वर्षको अवधिमा गरेका कामको समीक्षा र भावी योजनाका सन्दर्भमा सुरेशराज बरालले गरेको कुराकानी प्रस्तुत छः
- कमलामाई नगरपालिकामा हामीले सडक र बिजुली विस्तार, विपन्नलाई स्वास्थ्य बीमामा पहुँच, तथा कच्ची बाटो ढलानसहित पूर्वाधार स्तरोन्नतिलाई निरन्तरता दिएका छौं ।
- शिक्षाको गुणस्तर सुधारमा विशेष जोड दिँदै सामुदायिक विद्यालयमा डिजिटल तथा प्रविधियुक्त शिक्षालाई प्राथमिकताका साथ अघि बढाएका छौं ।
- हामीले सानातिना हाम्रा घरेलु उद्योगहरु र व्यापार व्यवसायहरुलाई मागमा आधारित सामाग्री उत्पादन लागि हाम्रो जुन एक वडा एक उत्पादन थियो त्यसका लागि काम गरिरहेका छौं ।
- कमलामाई नगरपालिका दूध, मासु र अण्डामा आत्मनिर्भर बनेको छ भने साना उद्योग र व्यावसायिक कृषिमार्फत आर्थिक समृद्धि हासिल गर्न नागरिकहरू स्थानीय तहसँग सक्रियरूपमा जोडिएका छन् । यसरी जनताको सहभागिता र उद्यमशीलताका कारण नगरपालिकाले आत्मनिर्भरताको बाटोमा उल्लेख्य प्रगति गरिरहेको छ ।
- हामीले ४ वर्षमा गरेको सबैभन्दा ठूलो उपलब्धी भनेको शिक्षामा सुधार हो । अनि यहाँका जनताहरुले आत्मनिर्भर हुने कृषि, पशुपालन लगायतमा जस्तो फलफुल खेती र कृषि प्रवर्द्धनमा हाम्रा जनताहरु एकदमै लालायित भएर आयआर्जनमा लाग्नुभएको छ ।
- अहिले वास्तवमा यो स्थानीय तहलाई स्वायत्त भनिए पनि हामीसँग त्यो स्वायत्तता पनि छैन । अहिले स्थानीय तहले प्रदेश, संघसँग स्वीकृत नलिकन एउटा पनि योग्य दक्ष कर्मचारी कर्मचारीको नियुक्ति भर्ना गर्न पनि सकिँदैन । त्यो अवस्थाले केही कामहरु हाम्रा जसरी अगाडि बढ्नुपर्ने थियो बढ्न सकेको छैन ।
तपाइँले आफ्नो कार्यकालको ४ वर्षको अवधिमा कमलामाई नगरपालिकामा नागरिकलाई दिगो विकास र सुशासनको अनुभूति दिनेगरी कस्ता योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुभयो ?
हामीले वास्तवमा कमलामाई नगरपालिकामा लगभग सडक र बिजुली नपुगेको ठाउँमा सडक र बिजुली पुर्यायौं । सामाजिक क्षेत्रमा विपन्न नागरिकलाई विपन्न स्वास्थ्य बीमासँग जोड्यौं । भौतिक पूर्वाधारका कामहरु पनि अघिल्लो कार्यकालमै निर्माण सम्पन्न नभइसकेका जुन धुले बाटाहरु थिए तिनलाई हामीले ढलान गर्ने काम गरेका छौं । यसरी बाटोको स्तरोन्नति गर्ने कार्यहरुलाई नै हामीले बढी प्राथमिकता दिएर अघि बढ्यौं । जुनसुकै कामलाई पनि निरन्तरता दिएर अघि बढाइसकेपछि त्यसलाई सम्पन्न गर्नुपर्छ भन्ने हो ।
अर्को शिक्षामा जस्तो शिक्षा भनेको चाहिँ एउटा मानिसको जीवनमा नभई नहुने कुरा पनि हो । शिक्षालाई हामीले सुधार गर्ने कार्यमा अघि बढेका छौं । अहिले हाम्रो सबभन्दा बढी जोड शिक्षामा रहेको छ । हिजोको अवस्थामा निजी विद्यालयमा सबै कुरा एकदम राम्रो हुन्छ भन्ने थियो । सामुदायिक विद्यालयमा त्यस्तो हुँदैन भन्थे तर अहिले हामीले धेरै ठाउँमा डिजिटल माध्यमबाट प्रविधियुक्त शिक्षा दिने कार्यलाई विशेष जोड दिएका छौं
हामीले सानातिना हाम्रा घरेलु उद्योगहरु र व्यापार व्यवसायहरुलाई मागमा आधारित सामाग्री उत्पादन लागि हाम्रो जुन एक वडा एक उत्पादन थियो त्यसका लागि काम गरिरहेका छौं । सबभन्दा ठूलो कुरा भौतिक पूर्वाधारसँगसँगै नागरिकको आर्थिक उत्थानलाई नै अगाडि बढाउनुपर्छ भनेर त्यस्ता कार्यमा जोड दिएका छौं ।
तपाइँले ४ वर्षअघि घोषणापत्रमा गरेका बाचा र अहिले भइरहेको विकासको बिच कत्तिको एकरुपता छ नि ?
एउटा जनप्रतिनिधि एउटा सपनै देखेर राजनीतिक भनेको वास्तवमा एउटा व्यापार व्यवसाय र पेश जस्तो होइन; यो विल्कुल समाज सेवा भन्ने हिसाबले लागेको हो । यसको लागि अग्रणी भूमिका निर्वाह गरौं, यसको नेतृत्व गरौं भनेर हामी राजनीतिमा आएको हो । अहिले वास्तवमा यो स्थानीय तहलाई स्वायत्त भनिए पनि हामीसँग त्यो स्वायत्तता पनि छैन । अहिले स्थानीय तहले प्रदेश, संघसँग स्वीकृत नलिकन एउटा पनि योग्य र दक्ष कर्मचारीको भर्ना गर्न पनि सकिँदैन; हिजोदेखि नै त्यस्तो छ । विद्यालयमा शिक्षकको दरबन्दी खाली हुन्छ तर योग्य र दक्ष शिक्षक पनि ल्याउन सक्ने अवस्थामा विगतमा शिक्षामन्त्रीले गरेको निर्णयले बन्देज गरेको छ; ल्याउनै नसक्ने अवस्था छ । अहिले विकास खर्च नै एकदमै न्यून संघीय सरकारको लगभग अनुदान भनेको शून्यकै अवस्थामा भएको हुनाले स्थानीयरुपमा जनताको आय स्रोतमा एकदमै कमी भएको नाताले जनताले चाहे अनुसारको जे सोचेको हो; त्यो इच्छा अकांक्षा अनुसारको धेरै काम गर्न सकेका छैनौं । त्यसैले सबभन्दा ठूलो कुरा भनेको आर्थिक स्रोत रहेछ । त्यो नभइसकेपछि एउटा स्थानीय तहले धेरै ठाउँमा ठेक्का प्रक्रियाद्वारा कार्य गरेको हुन्छ । त्यसमा राज्यले पैसा दिन नसक्ने अवस्थाले गर्दाखेरी प्रदेश सरकारबाट संघीय सरकारबाट अझ विशेषत स्वीकृृत लिएरमात्रै काम गर्नुपर्ने अवस्था छ ।
हाम्रो कमलामाई नगरपालिकाको नाम पनि यहाँको कमलामाई स्थानको नामबाट नै यसको नामकरण भएको थियो । यो एउटा धार्मिक स्थल भएकाले त्यसमा एउटा जनविश्वास कमलामाई मन्दिरमा हामीले आस्थाले जे बर माग्छौं त्यो पुग्छ भन्ने छ । यसलाई प्रवर्द्धन गर्न पनि त्यहाँ एउटा जलासय नै बनाउने भन्ने हाम्रो एउटा कार्यक्रम थियो । त्यसका लागि पनि हामीले आइईई, आईएए गर्दाखेरी संघीय सरकार वा विभिन्न निकायबाट स्वीकृत लिनुपर्ने त्यो पनि नपाएर हामीले त्यस्ता कार्य पनि गर्न सकेनौं । जसले गर्दा यसरी हामीले गर्न खोजेका धेरै कार्यक्रमहरुहरु पनि रोकिने, त्यो गर्नै नपाउने अवस्था छ । संघीय र प्रदेश सरकारबाट अनुमति नलिई एउटा रुटबाट बाटो खन्न पनि नपाउने अवस्थाले केही कामहरु हाम्रा जसरी अगाडि बढ्नुपर्ने थियो, त्यो बढ्न सकेको छैन ।
स्थानीय तहको विकासलाई प्रभावकारी बनाउन माथिल्ला निकायसँगको समन्वयचाहिँ कत्तिको प्रभावकारी रह्यो नि ?
हैन केही नै छैन । माथिल्ला निकायसँगको समन्वय प्रभावकारीभन्दा पनि झन् हिजो दलको सरकार हुँदाखेरी अलिकति सहजीकरण हुन्थ्यो । अहिलेको वर्तमान सरकार भनेको त त्यो केही मानिसको लागि सरकार छ भन्ने होला । शान्ति सुरक्षा, सुव्यवस्था छैन । कुनै जनप्रतिनिधिहरुलाई अहिले त आचारसंहितामै बन्दजे अझ भनौं दललाई नै बन्देज गरिने खालको यो निर्वाचन आचारसंहिता बनेको छ । कुनै समन्वय नै छैन । उही सरकार छ भन्ने आमरुपमा हेर्दाखेरी सरकार छ तर जनताले चाहिँ अनुभूत गर्ने खालको सरकार त झन् अहिले भएन । राजनीतिक अस्थिरताले पनि मुलुकमा विकास निर्माणलगायतका कामचाहिँ वास्तवमा एकदमै लथालिङ्ग र अवरुद्ध पनि भयो ।
त्यसो त भन्ने बेलामा त स्थानीय तहलाई संविधान कार्यान्वयनको पहिलो पाठशाला भने पनि संविधानको भावना विपरित संघ र प्रदेशले स्थानीय तहसँग समन्वय नगरी सानातिना योजनाका लागि आफैं अघि सर्ने प्रवृत्तिले अनावश्यक दोहोरोपना, स्रोतको विखण्डन, कार्यान्वयनमा हुने ढिलाई जस्ता कुराले कत्तिको चुनौति थपेको अनुभूति गर्नुभएको छ ?
एकदमै, जहाँ जुन ठाउँमा जस्तो यहाँ तटबन्ध गरिएका कति ठाउँ मैले देखेको छु । संघीय र प्रदेश सरकार मातहतका कार्यालयले जहाँ खोलो छैन त्यो ठाउँमा तटबन्ध बनाएको छ । त्यहाँ स्थानीय तहसँग कुनै समन्वय छैन । स्थानीय सरकारलाई त्यो न अनुगमन गर्ने अधिकार छ । तर प्रत्यक्ष जनताले देख्ने, भेट्ने, जनताको आजाव सुन्ने स्थानीय सरकार भएको हुनाले त्यो गालीगलौज हामीले खानुपर्ने हुन्छ । त्यो कुरा जनताले पनि नबुझेर स्थानीय तहले एउटा ढालको रुपमा मात्रै बस्नुपर्ने; स्रोत साधनबिहिन भएर अरुले गरेको काममा पनि गालीगलौज खाएर बस्नुपर्ने अवस्था छ ।
चालु आर्थिक वर्षका लागि तपाइँहरुले जे जस्ता योजना अगाडि सार्नुभएको थियो त्यसको कार्यान्वयन पक्ष कत्तिको सन्तोषजनक छ नि ?
गत भदौमा भएको जेन–जी नामको आन्दोलनले धेरै ठूलो क्षति पनि भयो । हाम्रो त कार्यालय भवन नै जल्यो । त्यो विध्वंसात्मक गतिविधि त्यसलाई त म आन्दोलन पनि भन्दिन । त्यो विध्वसंकारी गतिविधि नै हो । त्योचाहिँ एउटा आतंकवादीले गर्ने जस्तो अराजक मान्छेले गर्ने गतिविधि हो । त्यो गतिविधिले गर्दाखेरी हामीलाई यतिसम्म समस्या भयो कि जेष्ठ नागरिक, विपन्न नागरिकहरु, असहायहरु, एकल महिलाको भत्ता दिन पनि त्यस्ता कागजपत्रहरु जलेर झन् धेरै ध्वंस भए । यसले त विकास निर्माणमा झन् अप्ठ्यारो भयो । हामीलाई हिजो जलेका पूर्वाधारहरु निर्माण गर्दा नै प्रत्यक्षरुपमै जुन लक्ष्यका साथ विकास निर्माणमा अगाडि बढ्नुपर्ने थियो; त्यो कार्यचाहिँ अहिले हुन सकेको छैन । त्यसले हामीलाई एकदमै बाधा पुर्याउने देखिएको छ ।
आमनागरिकलाई स्थानीय रोजगारीमा जोड्न सीप विकास, लघु उद्यम प्रवर्द्धन, सहकारी सहयोग र बजार व्यवस्थापनका लागि तपाइँको नेतृत्वमा रहेको स्थानीय सरकारले ४ वर्षको अवधिमा कत्तिको सफलता पाएको अनुभूति गर्नुभएको छ ?
कमलामाई नगरपालिकामा हामी दुधमा आत्मनिर्भर छौं । हामी मासु, अण्डामा आत्मनिर्भर छौं । अहिलेको अवस्थामा हाम्रो नगरपालिकामा केही साना उद्योगहरु र कृषि पेशालाई एउटा व्यवसायिकरुपमा लाने लगायतका कार्यमा नागरिकहरु जोडिएर केही अन्यत्रको हिसाबमा हाम्रो नगरपालिका आत्मनिर्भर हुने कुरामा जनताहरु पनि स्थानीय तहसँग जोडिएर एकदमै अगाडि बढेको अवस्था छ ।
तपाइँलाई जोडेर पुराना काठको हिनामिनाको कुरा जुन कुरा बाहिर आयो खासमा भएको के हो त्यो ?
यो वास्तवमा म आउनुभन्दा अगाडि नै २०३६/०३७ सालतिरको कुरा होला, त्यो सभागृह बनेको । तल सिमेन्ट लगाएर माथि काठहरु थिए । अहिले निर्वाचनको मुखमा एउटा मसलाको रुपमा त्यसलाई बाहिर ल्याइएको छ । म निर्वाचित भएर आउँदै गर्दाखेरी त्यो काठ मैले जति थिए, त्यहाँ राखेका थुप्रिएका अहिले पनि त्यही अवस्था त्यहाँ छन् । अहिले चाहिँ एउटा अफवाह फैलाउने हिसाबले काम भएको छ । म आफैं केही गरेर खानुपर्छ भनेर कृषि पेशामा लागेको मान्छे पनि हो । यो नगरमा वास्तवमा मेरो आफ्नै लगभग ६/७ विघामा एउटा जङ्गलै छ । त्यहाँ कति सुकेका ढलेका काठहरु अहिले पनि मेरो घरमै छन् । ती काठबाट बाख्राको खोर बार्ने, गाईका गोठहरु बार्ने काममा म लागेको हुन्छ । अहिले निर्वाचनको मुखमा आएर बद्नाम गर्न खोजिएको हो । वास्तवमा म निर्वाचित भइसकेपछि पनि मैले यसको आम्दानी बाँधेको छ कि छैन भनेर सोधेको थिएँ । यो कसरी आयो, के हो भनेर म आफैंले सोधेको पनि थिएँ । अनि त्यो सोधिसकेपछि त्यतिखेर त्यो दिने निकाय पनि छैन भन्ने कुरा भयो । ठेक्का लगाएर यसलाई आम्दानीमा बाँधेर लिलाम गर्नुपर्छ भन्दा त्यसको काहिँबाट पनि अनुमति दिएको छैन । दिने निकाय पनि छैन भन्ने कुराहरु पनि भयो । हाम्रो सभामा पनि बोर्डको बैठकमा पनि कार्यपालिका बैठकमा पनि त्यो छलफल भएको हो । वास्तवमा उजुरी परिसकेपछि अख्तियारको काम भनेको त उसले आएर सोधपुछ गर्ने अनि हेर्ने भन्ने एउटा जिम्मेवारी र कर्तव्य पनि हो ।
एउटा जनप्रतिनिधि भएर पदमा पुगिसकेपछि त्यसले अख्तियारको दुरुपयोग गर्ने, व्यक्तिगत लाभको लागि धेरै कार्यहरु गर्ने भएकोले त्यो स्वभाविकरुपमा यसले कमायो कि भनेर कति ठाउँमा त्यो चर्चा भएको देखिन्छ, समाचारहरु पनि सुनिन्छ । यसले मान्छेको जीवनस्तर कायापलट भएको पनि देखिएको छ । म आफैंले पनि देखेको छु । त्यसले गर्दा मान्छेलाई कुरा हो की वा सम्बन्धित निकायलाई पनि हो कि भन्ने लाग्नु स्वभाविकै हो । उहाँहरु आएर हेरर पनि जानुभयो, मसँग कुरा पनि भयो । मेरो डढेको घर पनि हेर्नुभयो । एउटा निर्वाचनको मुखमा आरोप लगाएर यो अफवाह फैलाउने काममात्रै भएको हो । जो स्थानीय जसले मलाई यहाँ देख्नुभएको छ; जसले मलाई चिन्नुभएको छ; उहाँहरु कोही कसैले पत्याउने अवस्था पनि छैन । जतिखेर हेर्दा पनि हुन्छ, म त खुल्ला किताब जस्तै हुँ । किनभने म मेरो पितापुर्खाको पालादेखि बनेको काठको पुरानै घरमा बसेको छु । यो त निर्वाचनको बेलामा अफवाह फैलाउने काम मात्रै भएको हो । अझ मैले सुनिराखेको अर्को सिन्धुलीगढीको गढीमा काठका टुक्रा थिए कि थिएनन् त्यो पनि अझ मलाई थाहा छैन । गढीको दरबार भत्किएर गइसकेपछि पछि केही ठाउँमा पुननिर्माण भएर अहिले लगभग अन्तिम चरणमा पुगिसकेको छ । अब त्यहाँ रानीमहल बन्ला । यो एउटा अफवाह र के हो भने मान्छेमा त्यस्तो काम भएको हो कि होइन भन्दा पनि नकारात्मक कुरालाई चाहिँ यही हो भनेर प्रचार गर्ने बानी नेपालीमा आमरुपमै यो नकारात्मक भावनाको बढी विकास भएको जस्तो मलाई लाग्छ ।
स्थानीय तहमा धेरै अनियमितता हुन्छ भन्ने कुरालाई चिर्न पनि आफ्नो पालिकामा बेरुजु नियन्त्रण र पारदर्शिता सुनिश्चित गर्नका लागि के कस्ता उपायहरु अवलम्बन गरिरहनुभएको छ नि ?
वास्तवमा अहिले कति कुरा त सैद्धान्तिक बेरुजु हुन्छ । अन्य कुरामा हाम्रो नगरपालिकामा त्यस्तो बेरुजुहरुको समस्या छैन । त्यो स्पष्ट नै छ जस्तो जहाँनेर पनि सूचना तथा संचारको हक सबैलाई छ नि । त्यो जुनसुकै नागरिकले पनि हेर्न सक्छ । कमलामाई नगरपालिकामा मैले त्यो अवस्था देखेको छैन । जस्तो अहिले कोही प्रधानमन्त्रीको उम्मेदवार भएर हिँडेका पनि छन् त्यसमा कोही यस्तै स्थानीय तहका पालिकाका प्रमुखहरु पनि हुनुहुन्छ । जसको ठाउँमा एउटा सभा पनि गर्न नसकेर त्यो खर्च गर्न नसकेको अवस्था पनि रहन्छ । हामी त खाली बजेट अभावले जनताले हामीलाई एक लाख रुपैयाँको सामुहिक इनार खन्छौं भन्दा पनि पैसा दिन नसक्ने अवस्थामा छौं । त्यसो भएको हुनाले त्यस्तो अवस्थामा यहाँ अनियमितता भ्रष्टाचार भन्ने कुरा मलाई लाग्छ यो कमलामाई नगरपालिकामा त्यस्तो भएको छैन ।
तपाइँले कमलामाई नगरपालिकाको कार्यभार सम्हालेको ४ वर्ष पुग्दा सबैभन्दा ठूलो उपलब्धी के हासिल गरेजस्तो लाग्छ ?
वास्तवमा हामीले ४ वर्षमा गरेको सबैभन्दा ठूलो उपलब्धी भनेको शिक्षामा सुधार हो । अनि यहाँका जनताहरुले आत्मनिर्भर हुने कृषि, पशुपालन लगायतमा जस्तो फलफुल खेती र कृषि प्रवर्द्धनमा हाम्रा जनताहरु एकदमै लालायित भएर आयआर्जनमा लाग्नुभएको छ । सडक लगायतका भौतिक पूर्वाधारको काम पनि हामीले सँगसँगै लगेका छौं । जनताहरुले जस्तो मासुमा, अण्डामा, तरकारीमा यसमा चाहिँ कम्तिमा यो कृषि पेशा नै आत्मनिर्भरको क्षेत्र रहेछ भनेर लिएको अवस्था छ । जस्तो गलैंचा, ढाका र विभिन्न खालका सीप, व्यवसाय र विद्यालयहरुमा पनि पढ्दै कमाउँदै गर्ने खालका कार्यक्रममा जो लाग्नुभएको छ । सबभन्दा ठूलो कुरा भनेको ज्ञानको ज्योति शिक्षा त्यसमा कमलामाई नगरपालिकाका लगभग सबै शिक्षक–शिक्षिकाहरुले आफुले पढाउने विद्यालय र आफ्ना विद्यालयहरुलाई अनि यो राज्यलाई नै बलियो बनाउनुपर्छ भनेर लाग्नुभएको छ । यसले पछिसम्म निरन्तरता पाउँदाखेरी शिक्षाको विकासले नै यो नगरपालिका अगाडि बढ्छ भन्ने मलाई लाग्छ ।
जनप्रतिनिधिहरूले गाडी, इन्धन र भ्रमणमा ठूलो रकम खर्च गरे भन्ने आरोप छ, तपाइँको पालिकामा यो खर्च कति छ ?
हाम्रो नगरपालिकामा त्यस्तो किसिमको लापरबाही छैन । जेनजी आन्दोलनका क्रममा हाम्रा भएका गाडीमा पनि दुई वटामा आगजनि भयो । त्यो बाहेक अन्य हाम्रा ट्रकहरु, जेसिबीहरु बाटो पुनर्निर्माण, डम्पिङ साइट बनाउने काममा दैनिक लागेको हुन्छ । त्यसमा लाग्ने इन्धनबाहेक अन्यमा हाम्रो नगरपालिकामा त्यस्तो लापरवाहीको अवस्था छैन । कुनै पनि जनप्रतिनिधिहरुले गाडी, इन्धनको दुरुपयोग गर्नु भएको पनि छैन । म आफैं पनि आफ्नै मोटरसाइकलमा हिँडेको हुन्छ । कुनै औपचारिक कार्यक्रम बाहेक म पनि पालिकाको गाडी चढेर त्यसरी हिँडेको छैन । प्रमुख नै त्यसरी नहिँडेपछि अरुले हिँड्नु पर्ने अवस्था पनि छैन । हाम्रो फोहोर व्यवस्थापन र भ्याकुम लोडरहरु चल्ने काममा त खर्च हुन्छ नै ।
बाँकी कार्यकालको अबको एक वर्षमा तपाइँले कमलामाई नगरपालिकामा कस्ता कार्यक्रमलाई प्राथमिकताका साथ पूरा गर्ने लक्ष्य राख्नुभएको नि ?
अबको कार्यक्रम भनेको वास्तवमा यो विकास भन्ने कुरा त एउटा नियमित प्रक्रिया भएकाले त्यो विकास हुँदै जान्छ । हाम्रा नियमित संचालन भएका योजनालाई हामीले कार्यान्वयन गर्दै जाने हो । अब भनेको कृषि, पशुपालनलगायत अन्य साना उद्योगहरु संचालन गरेर जनताले आयआर्जन गर्ने कार्यक्रमहरुमा हाम्रो जोड रहन्छ । शिक्षामा गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा लगभग यो अन्तिम वर्षको बजेट यसमा नै मैले सबभन्दा बढी प्राथमिकता दिनुपर्छ भन्ने मलाई लागेको छ ।
