अर्थमन्त्री शर्माद्वारा राजीनामा, छानबिन गर्न संसदीय विशेष समिति गठन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।
आज प्रतिनिधि सभा बैठकमा आफ्ना भनाई राख्ने क्रममा संसद्ले छानबिन समिति बनाएको र त्यसमा आफूले पूर्ण सहयोग गर्ने र पदमा नबस्ने भन्दै राजीनामा घोषणा गरेका हुन् ।
प्रतिनिधि सभा बैठक शुरु भएपछि सभामुखले अर्थ मन्त्रालयमाथि उठेको टिप्पणीका विषयमा छानबिन गर्न समिति बनाएको सदनलाई जानकारी गराएका थिए ।
यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्रीको राजीनामा माग गर्दै आएको थियो ।
आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दलहरूबाट प्राप्त संसदीय छानबिन समितिका ११ जनाको नाम प्रस्ताव गरेका थिए।
अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति लगेर करका दर हेरफेर गरेको आरोप छ । अर्थमन्त्री शर्माबारे छानबिन गर्न संसदीय छानबिन समितिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट चार जना सांसद रहेका छन् ।
एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य छन् । यो समितिमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत रहनेछन् ।
यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा छन् ।
अर्थमन्त्रीले अनधिकृत व्यक्ति ल्याएर करका दर हेरफेर गरेको खबर सञ्चार माध्यम र संसदमा समेत उठेकोले यसबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको सभामुख सापकोटाले बताए ।
