अर्थमन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
आज साँझ राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवैधानिक अगंका प्रमुखको उपस्थिति थियो ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आज दिउँसो जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गर्नुभएको हो
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।
करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धी विषयको अनुसन्धान गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले निर्दोष सावित गरेपछि उहाँ पुनः अर्थमन्त्री नियुक्त हुनुभएको हो ।
