‘सुशासनको पक्षमा गरेको काम नै मेरो उपलब्धी हो’
नेपालमा संघीय शासन प्रणाली लागू भएसँगै स्थानीय तहको पुनर्संरचना भएर जनप्रतिनिधिले नेतृत्व सम्हालेको पनि करिब नौ वर्ष पुग्न लागेको । नागरिकका लागि स्थानीय तह सरकारको सबैभन्दा नजिकको, छिटो प्रतिक्रिया दिने र प्रत्यक्षरूपमा अनुभूत गर्न सकिने एउटा संरचना हो । तर पनि स्थानीय तहहरु संविधानले कल्पना गरेको स्वायत्त, सक्षम र जवाफदेही स्थानीय सरकारको परिकल्पनालाई मूर्तरूप दिन अझै संघर्षरत छन् । संघीयता कार्यान्वयनसँगै स्थानीय शासन सुदृढ बनाउने उद्देश्यका साथ २०७९ सालमा सम्पन्न दोस्रो स्थानीय तह निर्वाचनमा सर्लाही जिल्लाको हरिवन नगरपालिकाको नगर प्रमुखका लागि तत्कालिन नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवारी दिनुभएका रमेश बुढाथोकी स्थानीय सरकारको प्रमुखमा निर्वाचित हुनु भएको हो । उहाँको नेतृत्वमा नगरपालिकाले करिब चार वर्षदेखि नागरिकलाई आधारभूत सेवा प्रदान गर्दै सुशासनको अनुभूति दिलाउने प्रयास गरिरहेको छ । नगर प्रमुख बुढाथोकीसँग नगरपालिकामा भएका विकासका गतिविधि, सुशासन र भावी योजनाका सम्बन्धमा सुरेशराज बरालले गरेको कुराकानी प्रस्तुत छः
- हरिवनमा सुशासन, पारदर्शिता र जनसहभागितालाई केन्द्रमा राख्दै हामीले वार्षिक सार्वजनिक छलफल, सार्वजनिक सुनुवाइ र पारदर्शी कर्मचारी नियुक्तिको अभ्यास स्थापित गरेका छौं । खुला बहस, निगरानी र नियमित अनुगमनका कारण विकासका योजनाहरू गुणस्तरीय, जिम्मेवार र विश्वासयोग्य बनेका छन् ।
- जनतालाई आधारभूत पूर्वाधार, स्वास्थ्य, सरसफाइ, पानी, कृषि प्रवर्द्धन र आवश्यक सामग्रीमा केन्द्रित सेवाहरू प्रदान गर्दै हामीले समग्र हरिवनको विकासका लागि प्रयास गरेका छौं ।
- किसानलाई साझेदारीमा कृषि औजार वितरण, बेमौसमी तरकारी उत्पादन तालिम, दलित–जनजाति–मुस्लिम–थारुलगायत सबै समुदायको समावेशी सशक्तीकरण र नागरिक सचेतनाबाट राज्यसेवा सहज बनाउने काम हामीले अघि बढाएका छौं ।
- हामीसँग ठूल्ठूला उद्योग खोल्न क्षमतै छैन । साना साना कुटिर उद्योगहरु खोलेर मान्छेलाई रोजगार बनाउने, रोजगारी सिर्जना गर्ने काम हामीले अगाडि बढाएका छौं ।
- हाम्रो बेरुजु एकदमै न्यून छ । हामीले नीति, नियमभन्दा बाहिर गएर काम गर्न जानेका छैनौं । अझ सार्वजनिक खालका काम गर्दा पनि पैसा कहाँ कति खर्च भयो भनेर त्यसको विवरण सार्वजनिक गर्ने गरेका छौं । गुणस्तरमा ध्यान दिएका छौं ।
तपाइँले आफ्नो कार्यकालको करिब ४ वर्षको अवधिमा नागरिकलाई दिगो विकास र सुशासनको अनुभूति दिनेगरी कस्ता योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुभयो ?
हामीले अहिलेसम्म पहिलो कुरा जनताका आधारभूत कुराहरुमै जोड दियौं । त्यसमा पहिलो बाटोको काम हामीले गर्यौं । हामीले अर्को कुरा रैथाने बालीको प्रवर्द्धनका लागि कोदो, फापर र आलस जस्ता बालीलाई उत्पादनमा अनुदान दिने काम गर्यौं । त्यसपछि मान्छेलाई स्वस्थ बनाउने अभियान अन्तर्गत विभिन्न ठाउँमा योगहरु संचालन गरेका छौं । अनि सरसफाईका कार्यक्रमहरु अगाडि बढाएका छौं । नगरपालिकामा नेपाल सरकारले तोकेको औषधीहरु निःशुल्क उपलब्ध गराइरहेका छौं । कोल्डस्टोरहरुको व्यवस्था गरेका छौं । महिलाहरुलाई निःशुल्क सेनेटरी प्याडहरु उपलब्ध गराएका छौं । खानेपानीको लागि पनि काम गरेका छौं । कृषि सिंचाइमा पनि किसानलाई अनुदान दिने काम गरेका छौं ।
चालु आर्थिक वर्षका लागि जे जस्ता योजनाहरु अगाडि सार्नुभएको थियो त्यसको कार्यान्वयन पक्ष कत्तिको सन्तोषजनक छ नि ?
योजना कार्यान्वयन तिव्रगतिमा भइरहेको छ । हामीले नीति तथा कार्यक्रम उल्लेख भएका सबै योजनाहरु अगाडि बढाइरहेका छौं । कार्यान्वयनमा कुनै समस्या छै्रन ।
संघ, प्रदेश र स्थानीय तहबिचको समन्वय कस्तो रह्यो नि ?
स्थानीय तहको विकासको लागि तीनै तहबीचको समन्वय आवश्यक हुन्छ । तर बजेटमा तोकेर यति दिन्छौं भनेको पैसा पनि पुरै आएको अवस्था छैन । विभिन्न बाहानामा दिन्छु भनेको न्यूनतम पैसा पनि हामीले पाइरहेका छैनौं । त्यसकारणले हाम्रो पालिकाको आम्दानीमा सबै कुरा गर्न सकिने अवस्था छैन । माथिबाट आउने अनुदानमा पनि कटौती हुने कारण र अनि त्यो पनि बेलामा नआउने, पुरा पनि आइरहेको छैन ।
भन्ने बेलामा त स्थानीय तहलाई संविधान कार्यान्वयनको पहिलो पाठशाला भने पनि संविधानको भावना विपरित संघ र प्रदेशले स्थानीय तहसँग समन्वय नगरी सानातिना योजनाका लागि आफैं अघि सर्ने प्रवृत्तिले अनावश्यक दोहोरोपना, स्रोतको विखण्डन, कार्यान्वयनमा हुने ढिलाई जस्ता कुराले कत्तिको चुनौति थपेको अनुभूति गर्नुभएको छ ?
हो, राजश्व बाँडफाँडबाट आउनुपर्ने रकम हामीलाई यति आउँछ भनेर तोकेको पैसा पनि पूर्ण पाएका छैनौं । हामीले आउँछ र भुक्तानी दिन्छौं भनेर गराएका कामको पनि भुक्तानी दिन नसकेर त्यसको दायित्व अर्को वर्षका लागि सर्दै गएको छ ।
नागरिकका चाहना सम्बोधन गर्न आफ्नै दिगो स्रोतका लागि कत्तिको जोड दिनुभएको छ नि ?
हामीले आफ्नो आम्दानीको लागि खोजी त गरेका छौं । पहिलेको भन्दा आम्दानीमा वृद्धि पनि भएको छ । त्यसले मात्रै पर्याप्त मात्रामा काम गर्न सक्ने अवस्था छैन । आफुसँग भएका स्रोतको उपयोगका लागि पनि माथिल्ला निकायले फाइलहरु अगाडि नबढाइदिने, ढिलासुस्ती गरिदिने त्यो खालको अवस्था पनि हामीले भोग्नुपरेको छ ।
जनतालाई स्थानीय रोजगारीमा जोड्न सीप विकास, लघु उद्यम प्रवर्द्धन, सहकारी सहयोग र बजार व्यवस्थापनका लागि तपाइँको नेतृत्वपमा रहेको स्थानीय सरकारले कत्तिको सफलता पाएको अनुभूति गर्नुभएको छ ?
हामीसँग ठूल्ठूला उद्योग खोल्न क्षमतै छैन । साना साना कुटिर उद्योगहरु खोलेर मान्छेलाई रोजगार बनाउने, रोजगारी सिर्जना गर्ने काम हामीले अगाडि बढाएका छौं । त्यसबाट केही मान्छे रोजगार हुने कुरा पनि भएको छ ।
शिक्षा, सरसफाई जस्ता अधारभूत कुरामा यो ४ वर्षको अवधिमा के कस्ता ठोस उपलब्धी हासिल गर्नुभयो नि ?
शिक्षामा पनि हामीले धेरै परिवर्तन गरेका छौं । हिजोको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर वृद्धि भएको छ । भौतिक पूर्वाधारको कामहरु पनि अगाडि बढेको छ । धेरै विद्यार्थी भएको विद्यालयमा विषयगत शिक्षकको पनि नियुक्ति गरेका छौं । विद्यालयहरुमा कम्प्युटर शिक्षकहरुको पनि व्यवस्था गरेका छौं । विशेषतः हामीले प्राविधिक शिक्षामा जोड दिएका छौं ।
स्थानीय तहमा धेरै अनियमितता हुन्छ भन्ने आरोपलाई चिर्न पनि आफ्नो पालिकामा बेरुजु नियन्त्रण र वित्तीय पारदर्शिता सुनिश्चित गर्नका लागि के कस्ता उपायहरु अवलम्बन गरिरहनुभएको छ ?
हाम्रोमा बेरुजु एकदमै न्यून छ । हामीले नीति, नियमभन्दा बाहिर गएर काम गर्न जानेका छैनौं । अझ सार्वजनिक खालका काम गर्दा पनि पैसा कहाँ कति खर्च भयो भनेर त्यसको विवरण सार्वजनिक गर्ने गरेका छौं । गुणस्तरमा ध्यान दिएका छौं । त्यसले गर्दा अहिले हाम्रोमा बेरुजु चाहिँ एकदमै न्यून छ । मेरो पालामा अहिलेसम्म बेरुजु छैन भने पनि हुन्छ ।
तपाइँको कार्यकालको ४ वर्षको अवधिमा भएका सबैभन्दा ठूला उपलब्धी केलाई लिनुनुहुन्छ ?
मैले सुशासनको पक्षमा गरेको काम नै मेरो उपलब्धी हो । हामीले पारदर्शिताको लागि पनि काम गरेका छौं । त्यसपछि हामीले वार्षिकरुपमैै सार्वजनिक छलफलहरु चलाउने अनि सार्वजनिक सुनुवाइका काम पनि गरेका छौं । जसले गर्दा अब सचेत नागरिकहरुले हामीले के के गर्यौं भन्ने कुराको सूचना प्राप्त गर्नुहुन्छ । हामीले कर्मचारी नियुक्ति गर्दा पनि पारदर्शि ढंगले गरेका छौं । भनसुनको भरमा कर्मचारी नियुक्ति गरेका छैनौं । विकासका योजनामा हामीले सार्वजनिक बहस गरेर चाहे उपभोक्ता समितिमार्फत होस्, चाहे ठेकेदारमार्फत होस् यति पैसाको योजना हो भनेर जानकारी गराएर मात्रै त्यसरी काम गरेका छौं । हामी नागरिकलाई यस्तो काम छ यसमा सबैले निगरानी गरौं अनि राम्रो काम गराउँ भनेर सार्वजनिक रुपमै आह्वान गर्छौं । हामीले एकदम सचेतनापूर्वक आफ्ना काम अनुगमन गर्ने गरेका छौं । अनुगमन गरेका कारणले पनि कामहरु गुणस्तरीय र स्तरीय भएका छन् ।
किसान, महिला, पिछडिएको वर्ग, भूमीहिनका लागि कस्ता कार्यक्रमहरु संचालन भइरहेका छन् नि ?
हामीले सबै किसानको लागि उहाँहरुलाई चाहिने कृषि उपकरणहरु, साना साना उपकरणहरु जुन दैनिक आवश्यक पर्छ, त्यो कम खर्चमा धेरै काम होस् भनेर सादझेदारीमा कृषि औजारहरु वितरण गर्ने गरेका छौं । किसानलाई तरकारी उत्पादन गर्न प्रोत्साहन गर्ने, बेमौसमी तरकारीहरु उत्पादन गर्न सिकाउने, त्यसको लागि तालिम दिने कामहरु अगाडि बढाएका छौं । दलित वर्गको लागि पनि हामीले काम गरेका छौं । हामीकहाँ धेरै छुवाछुतका समस्याहरु पनि छैन । यहाँ दलित भनेर त्यस्तो विभेद एकदमै छैन भने पनि हुन्छ । हामीले दलित, जनजाति, मुस्लिम, थारु सबैको क्षेत्रमा काम गरेका छौं । आमजनतालाई सुसुचित हुने, सचेत हुने र राज्यप्रति जवाफदेही हुने र अनि राज्यबाट पाउनुपर्ने सेवा सुविधा पनि सहजतापूर्वक पाउनेगरी काम गरेका छौं ।
त्यस्तै हाम्रोमा सुकुम्बासी समस्या थोरै छ । त्यसमा पनि हामीले काम गरिरहेका छौं । हाम्रोमा भूमीहिन, दलित, सुकुम्बासीहरुको क्षेत्रमा जमिनको नापीदेखिको काम भइसकेको छ । अब सुकुम्बासी समस्याका लागि आयोग बन्ने अनि कहिले खारेज हुने, अनि सरकार परिवर्तन भएपछि उसले फेरी अर्को आयोग बनाइदिने, त्यसले राम्रोसँग काम गर्न नपाउँदै फेरी अर्को कुरा आउने जस्ता समस्याले पनि त्यसमा राम्रोसँग काम हुन सकेको छैन । सुकुम्बासी समस्या अन्त्यचाहिँ भएको छैन तर त्यसको समाधान छिट्टटै हुन्छ भन्ने कुरामा लागेका छौं ।
कार्यकालको करिब एक वर्षमा अब तपाइँको प्राथमिकता विशेषगरी केमा रहन्छ ?
मेरो कार्यकालयको बाँकी एक वर्षमा हामीले नगरपलिकाको आफ्नै आम्दानी वृद्धिको लागि अहिलेसम्म धेरै काम गरेका छौं । बाटोघाटो पनि हाम्रो अन्तिम अन्तिम अवस्थामा पुगिसक्यो । ९५ प्रतिशत बाटो पिच पनि भइसकेको छ । जसले गर्दा भौगोलिक सहजता पनि भएको छ । अब थोरै बाटो पिच हुन बाँकी छ त्यो पनि पूरा हुन्छ । अनि त्यो बाटोमात्रै बनाएर भएन हामीले त्यसका लागि निकास पनि दिनुपर्छ । निकासको लागि हामी अहिले नाला बनाउने अभियानमा छौं । हामी किसानलाई उन्नत जातको भैंसी उपलब्ध गराउने अभियानमा छौं । शुद्ध पानी खुवाउने अभियान अन्तर्गत त्यसको लागि हाम्रो त्यति धेरै समस्याहरु रहेका छैनन् । हामीले पाखा भित्तामा रहेका मान्छेलाई पनि पानी खुवाउने काम गरिरहेका छौं । एक दुई ठाउँमा बाँकी छ त्यसलाई पनि पूरा गर्छौं । यसरी जनतालाई चाहिने आधारभूत आवश्यकताहरु हामीले परिपूर्ति गर्दै गएका छौं । अहिले हामीले शिक्षा, स्वास्थ्य, बाटो, बिजुली यी चिजहरु प्रायः घरघर पुर्याइसकेका छौं ।
