बुधबार, जेष्ठ २०, २०८३ - Wed, June 3, 2026

मलंगवा जिल्लाकै पहिलो ‘साक्षर नगरपालिका

मलंगवा जिल्लाकै पहिलो ‘साक्षर नगरपालिका

सर्लाहीको २० पालिकामध्ये मलंगवा नगरपालिका जिल्लामै पहिलो ‘साक्षर नगरपालिका’ घोषणा भएको छ । मेयर नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा सर्लाही क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य एवम् निवर्तमान खानेपानी मन्त्री महिन्द्र राय यादवको प्रमुख आतिथ्यतामा नगरपालिका कार्यालयकै प्राङ्गणमा मंगलबार एक समारोहबीच नगरपालिकालाई ‘साक्षर नगरपालिका’ घोषणा गरिएको हो ा

 नगर शिक्षा समितिको बैठकको निर्णय अनुसार मलंगवा नगरपालिकाको १२ वटै वडाको १५ देखि ६० वर्ष उमेर समूहका जम्मा ५ हजार ६ सय ३० जनसंख्या मध्ये ५ हजार ४ सय १२ अर्थात ९६ दशमलव १३ प्रतिशत जनसंख्या साक्षर भएकाले नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको मलंगवा नगरपालिकाका सूचना अधिकारी राजकुमार अधिकारीले जानकारी दिए । 


नगरपालिकालाई साक्षर बनाउन शिक्षकहरू खटाएर प्रत्येक वडामा १-१ वडा सिकाइ केन्द्र सञ्चालन गरी १५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई विभिन्न चरणमा समावेश गर्दै लेखपढ गर्न सिकाइएको थियो । 

 हाल मलंगवामा ९६ दशमलव १३ प्रतिशत नागरिक लेखपढ गर्न सक्ने भएका छन् । नगरपालिकालाई साक्षर घोषणा गर्नुपूर्व पालिकाभित्र अक्षर चिन्न नसक्ने, आफ्नो नाम लेख्न, हस्ताक्षर गर्न नसक्ने नागरिकलाई फकाइ फुलाइ लेखपढ गर्न सिकाइएको नगरपालिकाका मेयर यादवले जानकारी दिए ।

नगरपालिकाले पहिलो चरणमा प्रत्येक वडाका  घरधुरीहरूमा पुगेर १५ देखि ६० वर्ष उमेरका निरक्षर व्यक्तिहरूको तथ्याकं संकलन गरेको थियो । दोस्रो चरणमा सिकाइ केन्द्र सञ्चालन गर्ने र विद्यालय शिक्षकहरूको माध्यमबाट विभिन्न चरणमा समावेश गर्दै लेखपढ गर्न सिकाइएको थियो । 

कार्यक्रममा मलंगवालाई साक्षर नगरपालिका घोषणा गर्नमा महत्वपूर्ण योगदान पुर्‍याउने शिक्षकहरुलाई सम्मान गरिनुका साथै साक्षर मलंगवा नगरपालिका नामक पुस्तक पनि विमोचन गरिएको थियो । नेपाल सरकारको मापदण्डअनुसार साक्षार नगरपालिका घोषणा गर्न पालिकाभित्र ९५ प्रतिशत नागरिक अनिवार्य लेखपढ गर्न सक्ने हुनुपर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *