चितवन २ मा बैशाख १० गते उपनिर्वाचन हुने
काठमाडौं । चितवन निर्वाचन क्षेत्र नं. २ मा बैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले २०८० बैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो ।
आइतबार बसेको आयोगको बैठकले निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते चितवनको निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको आयोगले जनाएको छ ।
चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरेसँग उनको सांसद पद गुमेको थियो । त्यसपछि खाली रहेको उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
