शुक्रबार, कार्तिक ७, २०८३ - Fri, October 23, 2026

‘संघीयताको मूल मर्म सेवा प्रवाहलाई जनताको घरघरमा पुर्‍याउनु हो’

‘संघीयताको मूल मर्म सेवा प्रवाहलाई जनताको घरघरमा पुर्‍याउनु हो’

बेथानचोक गाउँपालिका संघीय राजधानीदेखि ४५ किलोमिटर दक्षिणमा पर्ने काभ्रेपलाञ्चोक जिल्लाको एउटा स्थानीय तह हो । यस गाउँपालिकालाई ६ वटा वडामा विभाजित गरिएको छ । विशेषगरी कृषि, पर्यटनलगायतका माध्यमबाट विकास र समृद्धिको यात्रामा अग्रसर यस गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा हाल राजेन्द्र भण्डारी कार्यरत हुनुहुन्छ । २०७४ सालबाट नेपालको निजामती सेवामा प्रवेश गर्नुभएका प्रशासकीय अधिकृत भण्डारीले बेथानचोक गाउँपालिकाको दीगो विकास र सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गरिरहनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत भण्डारीसँग गाउँपालिकामा संचालित विकास निर्माणका योजना, कार्यान्वयनको अवस्था, कानुनी प्रक्रिया, सुशासन प्रवर्द्धन लागि गरिएका प्रयासलगायतका विषयमा केन्द्रित भएर सुरेशराज बरालले गरेको कुराकानी प्रस्तुत छः

  • जनताहरुले सेवा प्रवाहमा ढिलो भयो भनेर बेथानचोक गाउँपालिकाका हकमा बुझ्दा पनि हामीले ढिलासुस्ती गरेका छ्रैनौं । गाउँपालिकामा सबै कुराहरु हामीले पारदर्शिरुपमै गरिरहेका छौं ।
  • हामीले मानव विकासका क्षेत्रमा पनि धेरै लगानी गरेका छौं । जस्तो शिक्षा, स्वास्थ्य जस्ता विषय पनि मानव विकास अन्तर्गतै पर्छ । त्यसका लागि पनि हामीले पर्याप्त बजेट छुट्याएका छौं ।
  • हाम्रा नागरिकको सशक्तिकरणका लागि बजार प्रवर्द्धन, सीप हस्तान्तरण, नयाँ उद्यमी सिर्जना, पुराना उद्यमीलाई प्रविधि हस्तान्तरणमा जोड दिएका छौं ।
  • बेथानचोक भूगोलले चुनौतीपूर्ण भए पनि कृषि, दुग्ध उत्पादन र विविध कृषिजन्य वस्तुको केन्द्र भएकाले यहाँ चौबीसै घण्टा चल्ने सडक पूर्वाधार मुख्य आवश्यकता हो। ‘सुखी नेपाली, समृद्ध बेथानचोक’ लक्ष्यअनुसार शिक्षाबाट नागरिकको क्षमता विकास, स्वास्थ्य सेवा सुदृढीकरण र कृषि–पशुपालनका कार्यक्रमलाई समन्वय गरेर अगाडि बढाउन सके समृद्धि हासिल गर्न सकिन्छ ।

आमनागरिकलाई सुशासनसहितको डेलिभरी दिन मातहतका निकायबाट प्रवाह भइरहेको सेवालाई प्रभावकारीरुपमा तल्लो तहका लाभग्राहीसम्म पुर्‍याउन प्रशासनिक नेतृत्वका हिसाबले के कस्ता सुधारका प्रयास गरिरहनुभएको छ ?

संघीयताको मूल मर्म भनेकै सेवा प्रवाहलाई जनताको घरघरमा पुर्‍याउनु नै हो । जनताले सेवा खोज्ने होइनकी सरकारी निकायले नै तत्तत् सेवा लिएर जनताको छेउमा उपस्थित हुनुपर्छ भन्ने हिसाबले हामीले बेथानचोक गाउँपालिकामा योजना तर्जुमा गर्दादेखि नै बस्तिस्तरका योजनाहरुदेखि अनि त्यो वडामा अनि वडापछि गाउँपालिकामा आउने हुन्छ । हामीले अहिले टोल टोलदेखि वडा वडामा घुम्ति सेवाका कार्यक्रमहरु गरिरहेका छौं । सार्वजनिक सुनुवाईका कुराहरु छँदैछन् । जनताको गुनासो व्यवस्थापनका कुरा छन् । धेरैजसो प्रविधिकै माध्यमबाट हामीले राजश्व लिइरहेका छौं ।

अनावश्यक ढिलासुस्ती, सिफारिस र कागजी झन्झट घटाउन प्रविधिमुखी सुधारका लागि कत्तिको जोड दिनुभएको छ नि ?

चाहिने कागज त चाहिहाल्यो तर जनताहरुले सेवा प्रवाहमा ढिलो भयो भनेरचाहिँ बेथानचोक गाउँपालिकाका हकमा बुझ्दा पनि हामीले ढिलासुस्ती गरेका छ्रैनौं । जे कागज चाहिने हो जस्तो योजना भुक्तानीको सवालमा पनि यो अलिकति सम्वेदनशिल कुरा हो । हामीले यदि जो सेवाग्राही आउँछ उसको डकुमेन्ट पुगेको छैन भने यो यो डकुमेन्ट पुगेन भनेर उहाँहरुलाई बुझाउँछौं पहिलो कुरा । दोस्रो कुरा हामीले सुरुमै पनि उपभोक्ता समितिहरुलाई अभिमुखीकरण गराएका छौं । हाम्रा वडा सचिवहरुलाई पनि त्यसैगरी विभिन्न तालिमहरु दिएका छौं । उहाँहरुले पनि यो यो डकुमेन्ट चाहिन्छ भनेर भनिरहेको अवस्था छ । गाउँपालिकामा सबै कुराहरु हामीले पारदर्शिरुपमै गरिरहेका छौं ।

कार्यसम्पादनका क्रममा बेथानचोक गाउँपालिकामा विकासका आवश्यकता र सम्भावनाका साथसाथै चुनौतिहरु के के देख्नुहुन्छ ?

सबैभन्दा ठूलो कुरा अघिल्लो वर्ष हामी ठूलो विपद्मा परेका थियौं । अहिले हामी त्यस्तो साह्रै विपत्तबाट प्रभावित भएनौं । तर अघिल्लो वर्षको असोजमा हामीले ठूलो क्षति व्यहोर्‍यौं । हामीले त्यसमा संघ र प्रदेश सरकारबाट पुनर्निर्माणका लागि सहयोग पाउन सकेनौं । हामीसँग जे थियो त्यसैलाई प्रयोग गरेर प्राथमिकताका आधारमा अगाडि बढिरहेका छौं । यहाँको मुख्य चुनौति भनेको स्रोतकै हो । अर्को भौगोलिक जटिलता भयो, जनशक्ति पनि पूर्णरुपमा पाइरहेका छैनौं । तर मुख्य चुनौति भनेको स्रोत नै हो । त्यस्तै यहाँको भौगोलिक अवस्था पनि एउटा भयो । त्यसबाहेक हामी कर्मचारी र जनप्रतिनिधिहरुबीच अत्यन्तै राम्रो सम्बन्ध छ त्यस्तो असहज अवस्था छैन ।

चालु आर्थिक वर्षको करिब चार महिना सकिँदा बजेट कार्यान्वयनको अवस्थामा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

हाम्रोमा अघिल्लो वर्षको बजेट विपद् भएको कारणले गर्दा कतिपय कामहरु टुक्राटुक्रामा गरेका थियौं । त्यसको चाहिँ हामीले भुक्तानी गरिसक्यौं । जस्तो हाम्रो पहिलो किस्ता असोज २ गते नै निकास भयो । हामीले समानीकरण अनुदान र आन्तरिक राजश्वको पैसा खर्च गरिसक्यौं । अहिलेसम्मको हाम्रो खर्च व्यवस्थापन उत्साहजनक नै छ ।

स्थानीय तहका लागि छुट्याइएको अनुदान रकम पनि पूर्णरुपमा हस्तान्तरण नहुने परिपाटीले बजेट तथा योजना कार्यान्वयनमा कत्तिको समस्या आउने गरेको छ नि ?

वास्तवमा यो भन्दा अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा पनि हामीलाई संघीय सरकारबाट समानीकरण वापतको पैसा कम आएको हो । २०८१/०८२ मा पनि कम आएको हो । त्यसकै आधारमा हामीले योजना सम्झौता गर्ने त्यसकै आधारमा योजना सम्पन्न हुने तर योजना सम्पन्न भइसक्दा पनि पैसा नभएको कारणले गर्दाखेरी त्यसको दायित्व सरेर पछि निकासा आएपछि भुक्तानी गर्नुपर्ने अवस्था रहेको छ ।

नागरिकका माग सम्बोधनका नाममा जनप्रतिनिधिहिरुले टुक्रे कार्यक्रमहरुमा जोड दिनु एउटा बाध्यता अथवा राजनीतिक उद्देश्य पनि होला तर पनि स्पष्ट नतिजा नदिने कार्यक्रमहरुलाई निरुत्साहित गर्न उहाँहरुलाई कत्तिको घच्घच्याउने गर्नुभएको छ नि ?

हैन, बेथानचोकमा साह्रै टुक्रे योजनाहरु छैनन् । हामीले १० लाखभन्दा माथिका योजनामा ठेक्का प्रक्रिया अपनाउने गरेका छौं । हामीले निर्णय गर्नेभन्दा पनि जनप्रतिनिधि र बोर्डबाट निर्णय गर्‍या हो । हाम्रोमा त्यस्तो अवस्था छैन । यहाँका जनप्रतिनिधिहरु पनि त्यस्ता कुरामा सचेत हुनुहुन्छ । तर कुनै कुनैचाहिँ बाध्यतावश हुन्छ । कुनै ठाउँमा एउटा सानो खानेपानीको मुहान भत्किएको हुन्छ । त्यस्ता ठाउँमा मर्मतको काम गर्नु परिनैहाल्यो । त्यस्ता कामबाहेक हाम्रोमा धेरैजस्तो योजनाहरु ठूलै खालका छन् । हाम्रै बजेटले पाँच किलोमिटर सडक कालोपत्रे र अन्य कामहरु पनि गर्न हामी सफल भइरहेका छौं ।

स्थानीय सरकारहरुले पनि विकासका नाममा विशेषगरी छिटो परिणाम देखिने पूर्वाधार निर्माणमा बढी जोड दिनु, त्यसबाहेक मानव विकास र क्षमता अभिवृद्धिका कार्यक्रमलाई गम्भिररुपमा नलिँदा पनि विकासका गतिविधि कतै प्रभावकारी हुन नसकेका हुन् कि जस्तो लाग्दैन तपाइँलाई ?

हैन, हामीले मानव विकासका क्षेत्रमा पनि धेरै लगानी गरेका छौं । जस्तो शिक्षा, स्वास्थ्य जस्ता विषय पनि मानव विकास अन्तर्गतै पर्छ । शिक्षाको लागि पनि हामीले पर्याप्त बजेट दुई करोड आसपास छुट्याएका छौं । त्यस्तै स्वास्थ्यको क्षेत्रमा पनि डेढ दुई करोड बजेट विनियोजन गरेर कार्यक्रमहरु संचालन भइरहेका छन् ।

पछिल्लो समय स्थानीय तहका गतिविधिमा नागरिक सहभागिता घट्दै गएको, अपनत्व र संरक्षणमा चासो नदेखिनु एउटा समस्या छ भनिन्छ भने अर्कोतिर उपभोक्ता समितिमा पनि बिचौलिया हावी हुँदै गइरहेको भन्ने कुराले स्थानीय तहको विकासमा के कस्तो बाधा पारिरहेको अनुभूति गरिरहनुभएको छ ?

मेरो विचारमा यो हाम्रो बेथानचोकमा मात्रै नभएर अन्य ठाउँमा पनि सुनिएको कुरा हो । सहभागिताको पक्षचाहिँ त्यति उत्साहप्रद छैन । तर उपभोक्ता समिति गठनका लागि गाउँपालिकाले यहाँ यो कामको लागि यति गते उपभोक्ता समिति गठन हुँदैछ । तपाइँहरु उपस्थित हुनुहोला भनेर सूचना निकालेर उपभोक्ता समिति गठन गर्ने भएकाले त्यति समस्या छैन तर जनसहभागिताचाहिँ १० प्रतिशत भनिए पनि त्यस्तो उत्साहजनक सहभागिता हुने गरेको छैन ।

बेथानचोकमा आमनागरिकको सशक्तिकरणको लागि आयआर्जन बढाउने सीप विकास, लघु उद्यम प्रवर्द्धन, सहकारी सहयोग र बजार व्यवस्थापनका लागि स्थानीय सरकारले के कस्ता पहल गरिरहेको छ ?

हामीले हाम्रा नागरिकको सशक्तिकरणका लागि बजार प्रवर्द्धन, सीप हस्तान्तरण, नयाँ उद्यमी सिर्जना, पुराना उद्यमीलाई प्रविधि हस्तान्तरणअन्तर्गत हाम्रोमा लघुउद्यम विस्तार शाखा छ, त्यसमा संघ, प्रदेशबाट पनि केही बजेट आउँछ । बेथानचोक गाउँपालिकाको तर्फबाट पनि एउटा कोष खडा गरेर उद्यमी सिर्जना गर्ने कामचाहिँ हामीले गरिरहेका छौं । जस्तो अहिले हामीले कोशेली घर गठन गरेका छौं । यहाँ अर्गानिक चनाको सातु बन्छ, पिठोहरु बन्छ, खुवा बन्छ । ती वस्तुहरुलाई कोशेली घरबाट बिक्री वितरण गर्ने कामहरु गरिरहेका छौं ।

स्थानीय तहमा वर्षेनी बेरुजु र आर्थिक पारदर्शिताका सवालमा ओभरसाइट एजेन्सीहरुले प्रश्न उठाइरहँदा सामाजिक जवाफदेहिताको लागि प्रशासनिक तहबाट कत्तिको सजगता अपनाउने गर्नुभएको छ नि ?

हैन, हामीले गरेका छौं तर यो हाम्रो कारणले भन्दा पनि कहिलेकाहिँ हाम्रो कानुनचाहिँ कस्तो छ भने भनौं न बजेटको सिलिङ माथिबाट आउँछ हामीले बजेट छुट्याउँछौं । दुई करोड पैसा आएको हुन्छ तर योजनाको लागि बजेट लाग्छ एक करोड, अब बाँकी रह्यो एक करोड । फेरी अर्को ठेक्का लाग्ने एउटै योजनालाई डबल ठेक्का पर्ने गरेका कारणले धेरै जस्तो पालिकामा चाहिँ यस्तो कुराको विरोध आइरहेको छ । हाम्रोमा पनि आइरहेको छ । अब त्यसपछि अडिटर आएपछि हामी सम्परीक्षणमा जाँदा महालेखा परीक्षकको कार्यालयको तदारुकता त्यति नदेखिएकाले चाहिँ धेरै जस्तो स्थानीय तहहरुमा अलि बेरुजु बढिरहेको हो कि जस्तो लाग्छ । हाम्रो देशमा त हाम्रो कारणले भन्दा पनि डबल ठेक्काको कारणले पनि त्यस्तो समस्या देखिएको हो कि जस्तो लाग्छ । अहिले हाम्रोमा चाहिँ त्यस्तो बेरुजु देखिएको छैन ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनका इन्डिकेटरहरुमा बेथानचोक गाउँपालिकाको अवस्थामा कत्तिको सुधार भइरहेको छ ?

यसमा १० वटा इन्टिकेटरहरु छन् । अघिल्लो वर्ष विपत्तको कारणले गर्दाखेरी हामी त्यसमा सहभागि हुन पाइएन । त्योभन्दा अगाडि बेथानचोक गाउँपालिका पालिकास्तरीय मापनमा चाहिँ हामी पहिलो भएका हौं । मलाई जहाँसम्म लाग्छ ८७/८८ नम्बर ल्याएर यहाँका १३ वटा स्थानीय तहमध्ये हामी पहिलो भएको हो । सेवा प्रदाय, पूर्वाधारका कुरालगायतमा हामी पहिलो भएका हौं । तैपनि त्यसो भन्नुको मतलव सबै इन्डिकेटहरुमा पूर्ण छौं भन्ने कुरा पनि होइन । अझै पनि सेवा प्रवाहलाई केन्द्रमा राखेर अझै पनि जनताको नजिक पुर्‍याउनुपर्छ भनेर हामी लागेका छौं ।

आमनागरिकको विशेष चासो भनेकै शिक्षा, स्वास्थ्य र रोजगारीमै देखिएको हुँदा पालिकाले ति क्षेत्रको विकासका लागि कत्तिको जोड दिएको छ नि ?

शिक्षामा हामीले पर्याप्त बजेट छुट्याएका छौं । त्यस्तै रोजगारी सिर्जनाको लागि हाम्रो रोजगार शाखा संलग्छ । सीप अभिलेखीकरण गर्नका लागि प्रधानमन्त्री रोजगार जुन हाम्रो शाखा छ त्यो शाखामा सीप अभिलेखीकरण गर्ने, हामीसँग कस्ता जनशक्ति छन्, ति जनशक्तिमा ग्रामीण क्षेत्रमा भएकालाई पनि हामीले याद गर्ने, छिमेकी गाउँपालिका, नगरपालिकामा पनि अवसरहरु छन् भने त्यो अवसर जुटाइदिने काम हाम्रो रोजगार सेवा केन्द्रलाई सेवा केन्द्रको रुपमा हामीले विकास गरिरहेका छौं ।

समृद्ध पालिका र सवल नागरिकको लक्ष्य पूरा गर्न बेथानचोक गाउँपालिकाले अबका वर्षमा कस्ता विषयलाई समेट्नु पर्ने देख्नुहुन्छ ?

मैले सर्वप्रथम भन्दाखेरी त यो भूगोल अलि विकट र सम्वेदनशिल क्षेत्र भएता पनि कृषिको हव भएको, दुधको हव भएको, विविध कृषिजन्य वस्तुहरुको हव भएको कारणले गर्दाखेरी मुख्य कुरा चौबीसै घण्टा चल्ने सडकहरु चाहिन्छ । ‘सुखी नेपाली समृद्ध बेथानचोक’ भन्ने हाम्रो मूल उद्देश्य रहेको हुँदा यहाँको समृद्धिको लागि मुख्य कुरा शिक्षामा जोड दिनुपर्‍यो । नागरिकको क्षमता विकासका कुराहरु हुनुपर्‍यो । अनि त्यसपछि स्वास्थ्य, अनि कृषि र पशुको कार्यक्रमहरुलाई सँगसँगै लैजान सकियो भने बेथानचोकमा समृद्धि आउने देखिन्छ ।

– प्रशासनिक सरोकार मासिकको प्रिन्ट संस्करणबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *