बुधबार, जेष्ठ २०, २०८३ - Wed, June 3, 2026

व्यवसायीक लाभका लागि मात्र करको दर हेरफेर हुँदैन: अर्थमन्त्री डा. महत

व्यवसायीक लाभका लागि मात्र करको दर हेरफेर हुँदैन: अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रको पछिल्लो अवस्था र सूचकका बारेमा आज छलफल गरेका छन् । सिंहदरबारमा बसेको प्रतिनिधिसभा अर्थ समितिको बैठकमा उनले कुनै व्यक्ति विशेष र कसैको व्यवसायिक लाभको लागि मात्र करका दरमा हेरफेर नगर्ने बताए ।

उनले आउँदो बजेटमा मुलुकभित्र उत्पादनलाई बढाउने, उद्योग व्यवसायीलाई प्रोत्साहन गर्ने लगायतका कुरालाई बजेटमार्फत प्राथमिकता दिने नीतिमा क्रियाशील रहको बताए । छलफलका क्रममा अर्थमन्त्री डा महतले बजेटमार्फत पूँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन गर्नेमा ध्यान केन्द्रित गर्ने बताएका थिए ।

समितिमा सांसदहरूको प्रश्नको जवाफमा डा महतले भने, “स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन, तर हामी नेपालमै अवसर सिर्जना गर्दै लैजाने हो, यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन, युवाको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौँ ।”

उनले देशभित्र उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए । पुँजीगत खर्च, राजस्व परिचालनले गुणस्तरीय उत्पादन हुन्छ कि हुँदैन भन्नेमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित हुने बताएका थिए । समिति सदस्यहरुसँग उनले व्यक्ति र पार्टीभन्दा माथि उठेर काम बताए ।

बैठकमा समिति सदस्यहरुले बजेट कार्यान्वयनको चूनौतिलाई ध्यान दिन सुझाव दिएका थिए । बैठकमा सांसदहरु डा. स्वर्णिम वाग्ले, ज्ञानेन्द्र शाही, सूर्यबहादुर थापा, पदम गिरी, विराजभक्त श्रेष्ठलगायतले अर्थमन्त्री डा महतसँग अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा जिज्ञासा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *