मङ्लबार, साउन १२, २०८३ - Tue, July 28, 2026

नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैङ्कको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैङ्कको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सुधार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गरेको प्रतिवेदनमा आयात प्रतिबन्ध हटेको, पर्यटनमा फर्कँदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपनलगायतका कारणले सन् २०२४ मा नेपालको अर्थतन्त्रको वृद्धिदर तीन दशमलव नौ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।

बैंकले सार्वजनिक गरेको ‘नेपाल विकास अपडेटः निर्यातको प्रतिस्पर्धात्मकता पुनःस्थापना’ले सन् २०२५ सम्ममा नेपालको अर्थतन्त्र पाँच प्रतिशतले बढ्ने अनुमान पनि गरेको छ ।

अनियमित वर्षाका कारणले कृषि उपज उत्पादनको वृद्धिमा हुनसक्ने क्षति, भारतको निर्यात प्रतिबन्ध र उपभोग्य वस्तुमा पछिल्ला दिनमा आकासिएको मूल्यका कारण हुनसक्ने मूल्यवृद्धि र उच्च मुद्रास्फीतिका कारण बढ्दै जाने नीतिगत दर, आन्तरिक ऋण व्यवस्थापन खर्च र वृद्धिमा हुनसक्ने ढिलासुस्तीलगायतका जोखिमहरू पनि विद्यमान रहेकोतर्फ प्रतिवेदनले ध्यानाकर्षण गराएको छ ।

प्रतिवेदनले नेपालको बाह्य प्रतिस्पर्धात्मकता बढाउन सहयोगी हुनसक्ने विभिन्न पक्षको पनि खोजी गरेको छ । सन् २०२३ मा राष्ट्रको कुल गार्हस्थ्य उत्पादनको छ दशमलव नौ प्रतिशत मात्रै कूल निर्यात थियो । जुन दक्षिण एसियाका मध्यम आय भएका देशहरूको औसतको एक तिहाइ मात्रै हो ।

प्रतिवेदनमा नेपालको निर्यात न्यून हुनुमा विद्यमान न्यून श्रम उत्पादकत्व र विनिमय दरको अभिमूल्यन लगायत कारक रहेको उल्लेख छ । साथै, समकालीन देशहरू र मुख्य व्यापार साझेदार भारतको तुलनामा कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा रहेको श्रम उत्पादकत्वको गिरावटबाट पनि नेपाल प्रभावित रहेको औँल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *