‘जनताका आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकता’
स्थानीय तह निर्वाचन २०७९ मा रामेछाप नगरपालिकाको नगर प्रमुखमा लवश्री न्यौपाने निर्वाचित हुनु भएको छ । लामो समयदेखि राजनीतिक क्षेत्रमा क्रियाशिल न्यौपानेले जिल्ला सभापति र किसान संघको केन्द्रीय महासचिवको रुपमा पनि काम गरिसक्नु भएको छ । नगरबासीले उहाँलाई नेतृत्वमा पुर्याएसँगै कार्यकालको पहिलो आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममार्फत् नगरको विकासका लागि ७४ करोड ६५ लाख बराबरको बजेट विनियोजन भएको छ । नगरको विकास र समृद्धिका लागि उहाँले अगाडि सार्नुभएका भावी योजना र कार्यक्रमका सन्दर्भमा नगर प्रमुख न्यौपानेसँग प्रशासनिक सरोकारका लागि समुन्द्र अधिकारीले गरेको कुराकानी प्रस्तुत छः
तपाइँ रामेछाप नगरपालिकाको नेतृत्वमा आएसँगै कार्यकालको पहिलो आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरको विकासका लागि कस्ता कार्यक्रमलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुभयो ?
हामीले नगरको मुख्य समस्याका रुपमा रहेका सडक, खानेपानी, कृषि, वातावरणलगायतका क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेका छौं । बजेटमा हामीले मुख्य रुपमा जनताका आधारभूत आवश्यकतालाई नै प्राथमिकता दिएर प्रस्ताव गरेका हौंं । यो छलफलकै क्रममा छ ।
संघ र प्रदेशबाट प्राप्त हुने सशर्त अनुदानलगायतका शीर्षकको बजेटमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
यसभन्दा अगाडि हामीलाई व्यक्तिगत रुपमा बजेट पठाउँथे भने अहिले संस्थागत रुपमा बजेट तथा नीति आएका छन् । हामीले यसलाई सन्तुष्टि नै मान्नुपर्छ । केही योजनाहरु यस्ता आएका छन्, जसमा हाम्रोभन्दा पनि राज्यको आँखा परेको छ । त्यसकारणले हामीलाई जुन जुन शीर्षक अन्तर्गत संघ र प्रदेशबाट बजेट प्राप्त भएको छ त्यसमा हामी सन्तुष्ट नै छौं ।
तपाइँले नेतृत्व लिँदै गर्दा नगरमा भौतिक पूर्वाधारको अवस्था कस्तो छ, ग्रामीण सडकलाई बाह्रै महिना चल्न सक्ने गरी निर्माण गर्न के के योजना बनाउनु भएको छ ?
पूर्वाधारका क्षेत्रमा यसभन्दा अगाडिका नगर प्रमुख, उपप्रमुखले गरेका काम पनि राम्रैसँग भएका छन् । अहिले हामीले वडा सदरमुकामदेखि लिएर नगरपालिकाको सदरमुकामसम्म बाह्रै महिना यातायातका साधन चल्न सक्ने, क्षमताको अभिवृद्धि गर्ने र सडकको स्तरोन्नती गर्ने भन्ने नै हाम्रो लक्ष्य छ ।
जनताले चाहना राखेका योजनाहरुलाई मात्र हामीले पहिलो प्राथमिकता तोकेका छौं । त्यसकारण जनताले चाहना राखेका विकास निर्माणमा कोही कसैले विवाद गर्छ भने त्यो विकास विरोधी हो । आफ्नो व्यक्तिगत भावनालाई मात्रै राखेर भएन की समष्टिगतरुपमा जनताको मूल्यांकन गरेर बरु जनतालाई सिरानमा राखेर काम गर्नु पर्यो । यसरी काम गर्दा कसले विवाद गर्न सक्छ । त्यसकारणले जनताप्रति उत्तरदायी जनप्रतिनिधि भएपछि विवाद हुने सम्भावना मचाहिँ देख्दिन ।
सामाजिक क्षेत्रको विकासका लागि मुख्य गरी कस्ता आधारहरु तयार गर्दै हुनुहुन्छ ?
शिक्षामा
हाम्रो पहिलो वर्ष भएको हुनाले अहिले हरेक विद्यालयलाई कम्प्युटरको व्यवस्थापन गर्ने । कम्प्युटर शिक्षाका लागि काम गर्ने, नगरपालिकाको स्थानीय भाषा, लिपीलगायत सम्पूर्णको व्यवस्थापन गर्दै जाने र स्थानीय कोषमा राख्ने । अर्को कुरा शिक्षामा हामीले प्रत्येक वडाबाट एक एक जनाले सामुदायिक विद्यालयमा विज्ञान विषय पढाउने व्यवस्था गर्दैछौं । त्यस्तै एउटा भेटेनरी डाक्टर र एक जना बाली विशेषज्ञबाट विद्यालयमा पढाउनको लागि व्यवस्थापन गरेका छौं । यसलाई नीति तथा कार्यक्रममा समेटेका छौं । विद्यालयको गतिलाई स्तरोन्नती गराउने, भइरहेको संरचनालाई समाविष्ट गरेर अगाडि बढाउने हाम्रो लक्ष्य छ ।
स्वास्थ्यमा
स्वास्थ्यको क्षेत्रमा भन्नुपर्दा रामेछाप नगरापालिकामा जम्मा ९ वटा वडा छन् । ९ वटा वडा मध्ये एउटा रामेछाप जिल्लाकौ केन्द्रमा रहेको यस नगरपालिकाभित्र पर्ने जिल्ला स्वास्थ्य कार्यालय छ । त्यसको पनि व्यवस्थापन गर्दै जान्छौं । अहिले चिकित्सकहरुको पनि राम्रै उपस्थिति सुरु भएको छ । पहिला तीन जना चिकित्सकको दरबन्दी भएको ठाउँमा अहिले दरबन्दी पनि थप्ने लक्ष्यमा अगाडि बढेका छौं । दलित, जेष्ठ नागरिक र विपन्न वर्गका लागि पनि स्वास्थ्य बीमाको व्यवस्थापन गर्ने हाम्रो कार्यक्रम छ । त्यसैगरी सुत्केरी महिलाहरुलाई हाम्रो कार्यकालभरी निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने लक्ष्यसहित नीति तथा कार्यक्रमभित्र राखेका छौं ।
खानेपानी
नगरपालिकामा खानेपानीको दीगो व्यवस्थापनका लागि सुनकोशी आयोजना सम्पन्न हुँदैछ । हिमगंगामा खानेपानीको ठूलो वृहत योजना सुरु भएको छ । यसरी गोठ गाउँ, साँघुटारलगायतका वडामा खानेपानीको समस्या निराकरण गर्ने अवस्थामा पुग्दैछौं । त्यसैगरी सबै वडामा खानेपानीको सुविधाको लागि हाम्रो पहिलो प्राथमिकता नै जनतालाई एक घर एक धारा उपलब्ध गराउने नीति तथा कार्यक्रममा पनि पारेका छौं र हाम्रो हिजो चुनावको मुद्दा पनि त्यही हो ।
सामाजिक क्षेत्रको विकासका लागि समाजमा भएका कुरितीको अन्त्य गर्ने, दलित, जनजाति आदिको जीवनस्तर माथि उठाउने, जनचेतना फैलाउने भन्ने हाम्रो लक्ष्य छ ।

युवाहरुलाई लक्षित गर्दै खेलकुदको विकासका लागि के कस्ता कार्यक्रमहरु ल्याउनु भएको छ ?
खेलकुदको विकासका लागि ठाउँठाउँमा खेलकुद मैदान र कभर्ड हलको निर्माण गर्ने । यसभन्दा अगाडि पनि कभर्ड हल निर्माण भएका छन् । त्यहाँबाट खेलको अवस्थालाई हेरेर उनीहरुले चाहना राख्ने खेल के हो, मान्छेको इच्छाअनुसारको खेलका लागि पूर्वाधारको निर्माण गर्ने र खेल खेलाउने हाम्रो लक्ष्य छ । खेलकुद भनेको स्वास्थ्यको लागि सबैलाई नभई नहुने अपरिहार्य कुरा जस्तै भएको छ । युवाहरुको चाहना अनुरुप नै हामी अगाडि बढ्ने योजनामा छौं ।
नागरिकलाई उत्पादनसँग जोड्नका लागि कस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै हुनुहुन्छ ?
कृषिलाई व्यवसायीकरण गर्ने, कृषिमा भएको अहिले मौजुदालाई परिमार्जन गरेर अगाडि बढाउने र किसानहरुको हक हितको सम्बोधन गर्ने, किसानलाई कृषि सहकारीको उत्पादनमा जोड्ने, सीपमुलक तालिमको व्यवस्थापन गर्ने, उनीहरुले तालिम लिए वापत सुलभ रुपमा बैंकिङ सुविधाको लागि पनि पहल गर्ने योजना अगाडि सारेका छौं । किसानहरुले उत्पादन गरेको वस्तुहरुको बजारसम्मको पहुँचका लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने । अर्को कुरा अनुदान दिनुपर्ने गरी काम गरेका किसानहरुलाई काम गर्न प्रोत्साहन दिँदै युवा उद्यमशील किसानहरुलाई पनि हामीले अनुदानको व्यवस्था गरेका छौं ।
कर्मचारी र जनप्रतिनिधि भनेका एउटा पुलका दुई वटा पाटा हुन् । छिटो, छरितो काम गर्नका लागि जनता, जनप्रतिनिधि र कर्मचारीका बीचमा समन्वय गरेर अगाडि बढ्नुपर्ने हुन्छ । सुशासनका लागि तीनै पक्षको उत्तिकै जिम्मेवारी हुने हुनाले यसका लागि पनि हामी काम गरिरहेका छौं ।
संघ र प्रदेशबाट स्थानीय तहमा निर्माण हुने आयोजनामा आवश्यक समन्वय हुन नसक्दा स्थानी जनताले विभिन्न खालका सास्ती खेप्नु परिरहेको अवस्था पनि छ, यस्तो बेथितिको अन्त्यका लागि कसरी काम गर्ने योजनामा हुनुहुन्छ ?
राष्ट्रिय वा प्रदेशस्तरीय आयोजनाहरुलाई समयमै सम्पन्न गराउन स्थानीय, संघ र प्रदेश सरकारबीच समन्वय गरेर नै अगाडि बढाउँछौं । किनकी स्थानीय जनताको आवश्यकताको पहिचान नगरी योजना बाँडफाँड गर्दा केही समस्या भएको हुनसक्छ । त्यसकारणले स्थानीय जनताको, किसानहरुको अथवा स्थानीय उपभोक्ताहरुको भावनालाई मध्यनजर गरेर योजना तर्जुमा गर्दा र हामीले एउटा कुरा यसपाली के पनि निचोड निकालेका छौं भने अब स्थानीय तहबाट सिफारिस गरेका योजनादेखि बाहेक अन्य योजनालाई प्राथमिकता नदिने, हामी अथवा स्थानीय जनताले छानेका योजनाहरुलाई मात्र बजेट विनियोजन होस् भन्ने हामीले निर्णय पनि गरेका छौं ।
नागरिकलाई सुशासनको पूर्ण अनुभूति दिनका लागि के के काम गर्नुहुन्छ ?
पहिलो कुरा नागरिकलाई पूर्ण सुशासनको व्यवस्था गर्न नागरिकहरुको आवश्यकतालाई पहिचान गर्नुपर्यो । दोस्रो उहाँहरुको आवश्यकतालाई पहिचान गरेर विकास निर्माणका कुराहरु विनियोजन गर्नुपर्यो । तेस्रो जनताका कामकाजमा पहिले कर्मचारी र जनताको बीचमा सुमधुर सम्बन्ध कायम गर्नुपर्यो । जनप्रतिनिधिहरुको भावनामा कर्मचारीले पुलको काम गरिदिनु प¥यो । कर्मचारी र जनप्रतिनिधि भनेका एउटा पुलका दुई वटा पाटा हुन् । छिटो, छरितो काम गर्नका लागि जनता, जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय गरेर अगाडि बढ्नुपर्ने हुन्छ । सुशासनका लागि तीनै पक्षको उत्तिकै जिम्मेवारी हुने हुनाले यसका लागि पनि हामी काम गरिरहेका छौं ।
नगरको विकास गर्नका लागि तपाइँले यत्तिका धेरै योजनाहरु अगाडि सार्नु भएको छ, यहाँले जे जे योजना र कार्यक्रम अगाडि सार्नु भएको छ, यसलाई विवादरहित ढंगले कार्यान्वयनको चरणमा पुर्याउन सहज छ त ?
जनताले चाहना राखेका योजनाहरुलाई मात्र हामीले पहिलो प्राथमिकता तोकेका छौं । त्यसकारण जनताले चाहना राखेका विकास निर्माणमा कोही कसैले विवाद गर्छ भने त्यो विकास विरोधी हो । आफ्नो व्यक्तिगत भावनालाई मात्रै राखेर भएन की समष्टिगतरुपमा जनताको मूल्यांकन गरेर बरु जनतालाई सिरानमा राखेर काम गर्नु पर्यो । यसरी काम गर्दा कसले विवाद गर्न सक्छ । त्यसकारणले जनताप्रति उत्तरदायी जनप्रतिनिधि भएपछि विवाद हुने सम्भावना मचाहिँ देख्दिन ।
नगरपालिकामा सहरी विकासका लागि के कस्ता आधारहरु तयार गर्दै हुनुहुन्छ ?
सहरी विकासको लागि पहिलो कुरा त हाम्रो बजारको क्षेत्र कम छ । अहिले हामीले दुई वटा क्षेत्रलाई बढी केन्द्रित गरेका छौं । जिल्लाको पुरानो सदरमुकाम पनि र अहिले नगरपालिकाको केन्द्र रामेछाप बजारदेखि भालुखोप, भंगेरी अथवा ल्याङल्याङसम्म बजार विस्तार लागि सहरीकरण गर्ने लक्ष्यमा राखेका छौं । त्यसैगरी जिल्लाकै ऐतिहासिक अर्को साँघुटार बजारलाई पनि सहरीकरण गर्ने योजनामा छौं । ऐतिहासिक रुपमा राणा शासनको पालादेखि नै पूर्वबाट हिँड्दै काठमाडौं जाने बाटो भएको हुनाले त्यो ठाउँलाई पनि सहरीकरणको लागि विकास गर्न हामी उत्सुक छौं । सहरीकरणका लागि काम अगाडि बढाउन हामीले धेरै अगाडि योजना सारेका छौं ।
तपाइँको चुनावी प्रतिवद्धताअनुसार अबको पाँच वर्षमा रामेछाप नगरपालिकाको पहिचान र सामथ्र्यको मार्गचित्र कस्तो बन्छ जस्तो लाग्छ, यहाँलाई ?
मलाई जहाँसम्म लाग्छ, रामेछाप नगरपालिकाको विकास लागि मेरो आफ्नो अनुभूति र म झण्डै ४७ वर्ष सामाजिक क्षेत्रमा जीवन बिताएको मान्छे भएको हुनाले पाँच वर्षको अवधिमा धेरै काम गर्न सकिन्छ । हामीले गरेका विकास निर्माण हेर्नलाई रामेछाप जाउँ, जनताको आर्थिक उन्नतिको विकास भएको हेर्नलाई रामेछाप जाउँ । सडक निर्माणका बाटाहरु व्यवस्थित भएको हेर्र्नलाई रामेछाप जाउँ । खानेपानीदेखि लिएर सारा पूर्वाधारका कुराहरुको विकास भएको हेर्नलाई रामेछाप जाउँ भन्ने भावनाका साथ हामी अगाडि बढ्छौं ।
अन्त्यमा, नगरबासीबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
नगरपालिकाका सम्पूर्ण नगरबासीलाई विकास निर्माणमा विवाद नगरीकन सहयोग गर्नुहोस् भन्ने मेरो अनुरोध छ । शिक्षामा पनि हामीले सुधारका कार्यक्रमहरु ल्याएका छौं । कृषि, वन तथा वातावरणको विकास र संरक्षणमा पनि हाम्रो कार्यक्रम र लक्ष्य छ । अस्पतालदेखि लिएर सडक पूर्वाधार, खानेपानीलगायत सबै क्षेत्रमा काम गर्ने गरी हामी लक्ष्यतिर छौं । त्यसकारण रामेछाप नगरबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई म के आग्रह गर्न चाहन्छु भने भएको विकास निर्माणलाई संरक्षण गर्दै भोलिका दिनमा हुने विकास निर्माणलाई पनि अगाडि बढाउन हामीलाई सम्पूर्ण नागरिक समाज, डाक्टर, इन्जिनियर, बुद्धिजिवी, शिक्षक, किसान, मजदुर सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ । किनभने मेरै नेतृत्वमा रामेछापमा नेपाली कांग्रेसले दुई तिहाई बहुमतले जितेको छ । यसरी दुई तिहाइ मतको सम्मान गर्दै जनतालाई बढी भन्दा बढी विकास निर्माण प्रति उत्तरदायी हुनका लागि म आह्वान गर्न चाहन्छु ।
