चितवन–२ मा रवि लामिछानेले गरे उम्मेदवारी दर्ता
चितवन । बैशाख १० गते हुने उपनिर्वाचनका लागि पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा सिता ज्ञवाली र समर्थक विक्रम श्रेष्ठ रहेर लामिछानेले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यालय चितवन क्षेत्र नम्बर २ को कार्यालयमा स्वतन्त्र पार्टीका कार्यकर्ताहरूका साथ मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
भरतपुर ११ स्थित विशाल चोकमा रहेको पार्टीको प्रचारप्रसार कार्यालयबाट र्यालीसहित लामिछाने निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले उपचुनाव हुनुमा आफूले पनि नैतिक जिम्मेवारी लिने बताए । उनले भने, “ उपचुनाव हुनुमा को-कोले कति जिम्मेवारी लिने हो त्यो मध्ये मेरो भागमा परेको जिम्मेवारी म लिन तयार छु” ।
लामिछानेलाई नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि निर्वाचन आयोगले बैशाख १० मा उपनिर्वाचन गर्न लागेको हो ।
त्यस्तै उपनिर्वाचनका लागि दिउँसो एक बजे नेपाली कांग्रेसले मनोनयन दर्ता गर्ने भएको छ । कांग्रेसका तर्फबाट निवर्तमान जिल्ला सभापति जीत नारायण श्रेष्ठले उमेदवारी दर्ता गर्दैछन् । यता नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । उनले दिउँसो तीन बजे मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
