रविले कटाए ५० हजार मत, फराकिलो मतान्तरसहित जित निश्चित
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चितवन – २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् । योसँगै उनको जित निश्चित भएको छ । कुल ७८ हजार २७७ मत खसेकोमा ७० हजार २३९ मत गणना हुँदा लामिछानेले ५० हजार ७९ मत ल्याएका हुन् ।
सभापति लामिछानेका प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ ९ हजार १६६ मतका साथ दोस्रो स्थानमा छन् । उनीहरुबीच ४० हजार ८६३ मतान्तर रहेको छ । त्यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले अहिलेसम्म ८ हजार ८७९ मत प्राप्त गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब गन्न बाँकी ८ हजार मतको अहिले मतगणना जारी रहेको छ । सभापति लामिछानेले गत मंसिर ४ को चुनावमा पाएको भन्दा यसपालि धेरै मतसँगै मतान्तर पनि फराकिलो पार्ने देखिएको छ । गत मंसिरमा उनले ४९ हजार २९६ मत पाएर विजयी भएका थिए ।
