पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूको बयानका आधारमा खाँणलाई बुधवार बिहान निवासबाटै जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । उनलाई प्रहरी परिसर टेकु लगिएको छ । खाँणसँगै उनका स्वकिय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस प्रकरणमा पक्राउ परेका आरोपितहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको दाबी गरिएको अडिओ सार्वजनिक भएपछि उनी प्रहरी निगरानीमा थिए । यसअघि पनि परिसरले खाँणलाई आवश्यक परेको बेला बयानका लागि उपस्थित हुने शर्तमा कागज गराएर छोडेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायतका अभियुक्तलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित सानु भण्डारी, केशव दुलाल, सागर राई, टंककुमार गुरुङ, सन्देश शर्मा र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन् । टोपबहादुरलगायतका अन्य केही आरोपित भने अझै फरार सूचीमै छन् ।
