बुधबार, जेष्ठ २०, २०८३ - Wed, June 3, 2026

बगाएको खेत सम्याउदै गोलञ्जोर गाउँपालिका

कश्यप बराल

सिन्धुलीको गोलञ्जोर गाउँपालिका ३ स्थित दिङदिङ फाटमा लहलह धान फलेको थियो। सोही फाटमा स्थानीय विरबहादुर बयलको पनि धान खेत थियो।दसैँ अगाडी नै धान काट्ने र दसैँ मनाउने उद्देश्य बयलले राखेका थिए।तर बयलको खेतमा सुनकोसीको बाढीको बज्रपात पर्‍यो।सबै खेत हेर्दा हेर्दै बगर बनायो।

गत असोज महिनाको दोस्रो साता परेको अविरल बर्षासँगै सुनकोसी नदीमा आएको बाढी खेतमा पसेपछि बयलजस्तै गोलञ्जोरका झन्डै दुई सय भन्दा बढी किसानको खेत बगर बनायो।

खेत बगर बनेसँगै चिन्तित बनेका किसानलाई गोलञ्जोर गाउँपालिकाले खेत सम्याएर पुरानै अवस्थामा फर्काउने कार्य गर्न थालेको छ। बाढी र पहिरोले छोपिएर बगर बनेको धान खेतलाई सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले किसानको माग अनुसार खेत सम्याइदिन थालेको हो।

 यस वर्ष धान भित्र्याउन नपाए पनि कम्तीमा खेत सम्याएर गह्रा बनाउन गाउँपालिकाले सहयोग गरेको छ। फेरि प्राकृतिक विपत्ति आएन भने अर्को साल धान भित्र्याउन पाइएला भन्ने आस छ, बयलले भने।

गत असोज महिनाको ११ र १२ गते परेको अविरल बर्षासँगै सुनकोसी नदीमा आएको बाढी र अन्य विभिन्न खोलानालामा आएको पहिरोले किसानको पाक्ने बेलाको धान पुरेपछि चिन्तित बनेका किसानहरूको खेल पुरानै अवस्थामा फर्काउन थालिएको गोलञ्जोर गाउँपालिका सिन्धुलीका अध्यक्ष शंकर बरालले बताए।

किसानको पहिलो माग नै बगर बनेको खेतलाई कसरी सम्याउन सकिन्छ भन्ने भयो, त्यसैले संघिय सरकार स्थानीय सरकार र प्रदेश सरकारको बजेटबाट खेत सम्याइदिन थालेका हौ, उनले भने।बरालका अनुसार बागमती प्रदेश सरकारबाट दश लाख र संघिय सरकारबाट आएको ७५ लाख बजेटबाट स्थानीयको खेत सम्याइदिन थालिएको हो।

गाउँपालिका भित्र पर्ने सुनकोसी नदीको तटीय क्षेत्रस्थित वडा नम्बर  १, २, ३, ६ र ७ का पुरिएका खेतहरूलाई पुरानै अवस्थामा फर्काउन मेसिन लगाउने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ।वडाभित्रको मुख्य धान फाटनै बगर बनेपछि त्यसलाई सम्याउन पहिलो पहल भएको वडा नम्बर ३ का वडा अध्यक्ष केपी पोखरेलले जानकारी दिए।२ सय ८६ रोपनी खेत बाढीले प्रभावित भएकाले धमाधम सम्याउन र खेत बनाउन थालिएको वडा अध्यक्ष पोखरेलको भनाई छ । 

दसैँ अगावै धान धन्काएर दसैँ मनाउने तयारी गरेका किसानको धान सहित खेत पूर्ण रुपमा बगर बनाएपछि सुनकोसी तटीय क्षेत्र उराठ लाग्दो बगर बनेको छ । खेत गाउँपालिकाले सम्याए पनि तत्कालै उब्जनी हुने अवस्थाको माटो नभएको किसानहरूको भनाई छ।

रोशीमा क्रसरको बालुवाले खेत छोपेको छ, अब तत्कालै पुरानै अवस्थामा आउन सक्दैन, स्थानीय केरमान तोलाङगीले भने, गाउँपालिकाले सम्याइ दिएको छ, यो खुसीको कुरा हो,उब्जाउ जे जस्तो भए पनि अब खेती गर्न सकिने अवस्थामा पुग्न थालेको छ।

यस वर्ष सिन्धुलीमा ११ हजार एक सय ८८ हेक्टर जमिनमा धान लगाएको मध्ये करिब ९ सय हेक्टर जमिनको धान पूर्ण रुपमा नष्ट भएको छ। रोशी र कोसीले सुनकोसी गाउँपालिकाको मुलकोट नेपाल थोक खाल्टे आसपास गरि करिब ४ सय हेक्टर खेत बगर बनेको छ यस्तै गोलञ्जोर गाउँपालिकाको तटीय क्षेत्रको सय हेक्टर धान खेत डुबान तथा कटानको चपेटामा परेको छ।

यस्तै बागमती र मरिण खोलाले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको बागमती किनारको कुडुले फाट, गुर्दी सेरा फाट बस्तीपुर र श्रीपुर फाट गरि तीन सय पन्ध्र हेक्टर धान खेतलाई बाढीले बगाएको कृषि विकास कार्यालय सिन्धुलीको तथ्याङ्क छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *