बुधबार, जेष्ठ २०, २०८३ - Wed, June 3, 2026

विद्यार्थीलाई परम्परागत सीप सिकाउँदै विद्यालय

विद्यार्थीलाई परम्परागत सीप सिकाउँदै विद्यालय

तनहुँ । तनहुँको एक सामुदायिक विद्यालयले विद्यार्थीलाई लोपोन्मूख परम्परागत जीवन उपयोगी सीप सिकाइरहेको छ । यस्तो सीप सिकाउने विद्यालयमा म्याग्दे गाउँपालिका–१ मानहुँ स्थित विजय आधारभूत विद्यालय रहेको छ । सो विद्यालयले परम्परागत सीप अन्तर्गत हाल गुन्द्री बुन्ने सीप प्रदान गरिरहेको छ । स्थानीय रितिमाया थापा मगरले सीप सिकाईरहनु भएको छ । जोस, जाँगरका साथ विद्यार्थी पनि सिकिरहेका छन् ।

आफूले जानेको परम्परागत सीप विद्यार्थीलाई सिकाउन पाउँदा रितिमाया पनि खुसी हुनुभएको छ । विद्यार्थीले ध्यान दिइरहेकाले सिकाउन सहज भएको रीतिमायाले बताउनुभयो । यतिबेला घरमा गुन्द्री बुनिरहनुभएकी विद्यालय सीप हस्तान्तरणको लागि बोलाएपछि रीतिमायाले सिकाइ रहनुभएको हो ।

लोपोन्मूख नेपालीका परम्परागत सीप र संस्कृतिसँगै दैनिक पठनपाठनको कामलाई विद्यालयले अघि बढाए अनुरुप विद्यालयले गत शुक्रबारदेखि नयाँ पुस्तालाई पुराना नेपाली सीप र संस्कृतिकोबारे व्यवहारिक ज्ञानसहितको प्रयोगात्मक शिक्षा दिने उद्देश्य अनुरुप गुन्द्री बुन्न सिकाएको विद्यालयले जनाएको छ ।

कक्षा ७ र ८ मा पेशा व्यवसाय विषय अन्तर्गत व्यवहारिक ज्ञान दिन विद्यार्थीलाई गुन्द्री बुन्न सिकाएको शिक्षिका सुशिला थापाले जानकारी दिनुभयो । किताबी ज्ञान भन्दा व्यावहारिक ज्ञानबाट विद्यार्थीले धेरै सिक्ने र सजिलैसँग सिक्ने भएकोले सामाजिक विषयसँग सम्बन्धितमा स्थानीय स्तरको पराल, डोरी र हत्यासोको प्रयोग गुन्द्रीबुन्न सिकाएका हौं’ शिक्षिका सुशिलाले बताउनुभयो । गुन्द्री बुन्न छात्रा मात्रै नभई छात्रले पनि रुची पूर्वक सिकिरहेको शिक्षिका शुसिलाले जानकारी दिनुभयो ।

आधुनिक प्लाष्टिका गुन्द्रीको कारण परालको गुन्द्री मासिदै गएकोले यो सीप र संस्कृतिबाट दिक्षित गर्न सीप सिकाएको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार कक्षा ७ का ४ जना र कक्षा ८ का ७ जना गरी ११ जना विद्यार्थीले गुन्द्री बुन्न सिकिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *