‘हामीले जनमुखी सेवा प्रवाहलाई अँगालेका छौं’
चन्द्रपुर नगरपालिका मधेश प्रदेशको रौतहट जिल्लामा अवस्थित एउटा स्थानीय तह हो । पूर्व–पश्चिम राजमार्गले छोएको यो नगरपालिका विकास र समृद्धिका लागि निरन्तर प्रयासरत रहेको छ । हाल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा भरतप्रसाद श्रीवास्तव कार्यरत हुनुहुन्छ । सार्वजनिक प्रशासनका क्षेत्रमा लामो अनुभव सँगाल्नु भएका उपसचिव श्रीवास्तवसँग नगरपालिकामा संचालित विकास निर्माणका योजना, कार्यान्वयनको अवस्था, कानुनी प्रक्रिया, सुशासनलगायतका विषयमा केन्द्रित भएर सुरेशराज बरालले गरेको कुराकानी प्रस्तुत छः
- हामीले जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै वार्षिक कार्यक्रमको परिधिभित्र सेवा र विकास निर्माण अघि बढाइरहेका छौं । प्रविधिमा आधारित सेवा प्रवाहमार्फत नागरिकलाई छिटो, सहज र झन्झटमुक्त सेवाका जोड दिएका छौं ।
- बजेटको कार्यान्वयन नगरसभाबाट पास भएअनुसार नै अघि बढिरहेको छ र अब पूर्ण रूपमा सुरु भएको छ । हामीले सोचे अनुसार नै बजेट खर्च हुने अनुमान गरेका छौं ।
- नगरपालिकाले बिपन्न, महिला र अशक्त नागरिकलाई लक्षित गर्दै सीपमूलक तालिममार्फत आयआर्जनसँग जोड्ने काम गरिरहेको छ ।
- चन्द्रपुरको समग्र विकासका लागि जनमुखी कार्यक्रममा जोड दिनु आवश्यक छ र योजनामा नागरिकको सहभागिता अनिवार्य छ । जनप्रतिनिधिहरूले टोल कमिटीबाट आएका योजनालाई प्राथमिकतामा राखेर विकास निर्माणमा प्रतिवद्ध रहनु पर्दछ ।
आमनागरिकलाई सुशासनसहितको डिलिभरी दिनलाई सेवा प्रवाह, जनउत्तरदायित्व र संस्थागत सुधारका विषयमा के कस्ता सुधारका कार्यहरु अगाडि बढाउनुभएको छ ?
हामीले जनमुखी सेवा प्रवाहलाई अँगालेका छौं । वार्षिक कार्यक्रम पनि त्यसैगरी तर्जुमा गरेका छौं । वार्षिक कार्यक्रमकै परिधिभित्र रहेर सेवा प्रवाह र विकास निर्माणका कार्यक्रमहरु अगाडि बढाउन जनप्रतिनिधिहरुलाई सहयोग गरिरहेका छौं । रह्यो कुरा विगतदेखि हाम्रो चन्द्रपुर नगरपालिकाको धेरै घाटा बजेट छ । जसले गर्दा विकास निर्माणमा अलिकति चुनौति नै रहेको छ ।
अनावश्यक ढिलासुस्ती, सिफारिस र कागजी झन्झट घटाउन प्रविधिमुखी सुधारका लागि कत्तिको जोड दिनुहुन्छ नि ?
हामी लगभग डिजिटल प्रविधिको प्रयोगमै छौं । हाम्रा प्रायः सबै सेवाहरु अनलाइनका माध्यमबाटै हुने गरेका छन् । त्यही भएर हाम्रोमा त्यति कागजी झन्झट हुँदैन । सेवा लिन आउने नागरिकलाई हामीले तुरुन्तै सेवा उपलब्ध गराउने गरेका छौं । अन्य ठाउँभन्दा यहाँबाट प्रवाह हुने सेवा बिना झन्झट चाँडै उपलब्ध हुने गरेको छ जस्तो लाग्छ ।
तपाइँले एउटा प्रशासनिक नेतृत्वको हिसाबले चन्द्रपुर नगरपालिकामा विकासका आवश्यकता र सम्भावनाका साथसाथै चुनौतिहरु के के देखिरहनुभएको छ नि ?
हाम्रोमात्रै नभएर प्रायः नेपालका सबै स्थानीय तहको एउटै समस्या भनेको स्रोतकै अभाव हो । जसले गर्दा विगतमा भएका कामको पनि हामीले भुक्तानी दिन सकिरहेका छैनौं । गत भदौमा भएको जेन–जी आन्दोलनका कारण चन्द्रपुर नगरपालिकामा ठूलै क्षति पुगेको अवस्था हो । कागजपत्र सबै जलेर नष्ट भए । त्यसको आवश्यक निर्देशनका लागि हामीले अर्थ मन्त्रालयमा पनि एउटा प्रस्ताव पठाएका थियौं । जहाँ जहाँ हामीले भुक्तानी गर्नुपर्ने थियो सबै डकुमेन्ट नष्ट भएकाले भुक्तानीका लागि मान्छेहरु एकदम लाइनमा छन् । कागजात नष्ट भएकाले हामीसँग भुक्तानीको केही आधार देखिएन । त्यही भएर हामीले माथिल्लो निकाय अर्थमन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, महालेखामा माग गरी पठाएका छौं । त्यहाँबाट अहिलेसम्म आवश्यक निर्देशन नआइपुगेकाले हामीलाई अप्ठ्यारो भएको छ ।
स्थानीय तहका लागि छुट्याइएको अनुदान रकम पनि पूर्णरुपमा हस्तान्तरण नहुने परिपाटीले बजेट तथा योजना कार्यान्वयनमा चाहिँ के कस्ता समस्या देख्नुहुन्छ ?
नगरपालिकामा संचालित कार्यक्रमहरुभन्दा हामी संघीय सरकारको र प्रदेश सरकारको अनुदान भन्छौं । त्यहाँबाट प्राप्त हुने अनुदानका योजनाहरु पनि राख्छौं । आन्तरिक आय पनि हामीले अनुमानित गर्छौं तर पुरै लक्ष्य भेट्न नसकेको, लक्ष्यमै पुग्न नसकेको अवस्था छ । त्यसमा हाम्रो आन्तरिक आय पनि जोडिएको हुन्छ त्यही बजेटहरु हाम्रो सर्दै जाने भएकाले हामीलाई समस्या हुने गरेको छ । अहिले संघबाट आउने अनुदान विस्तारै कटौती हुँदै जानुले स्थानीय तहका योजना तथा कार्यक्रममा असर त पर्ने नै भयो । स्रोतको परिधिका बारेमा हामीले पनि जनप्रतिनिधिहरुलाई सचेत गराउने काम गरिरहेका हुन्छौं । आफ्नो बजेटको परिधिभित्र बस्नुस् भनेर भनिरहेका हुन्छौं । त्यो संघीय अनुदानमात्रैमा भर नपरौं, आफ्नो स्रोतका क्षेत्र बढाउने तर्फ ध्यान दिनुपर्छ जस्तो लाग्छ ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ?
बजेटको कार्यान्वयन प्रक्रिया अनुसार नै भइरहेको छ । हामीले भर्खर नगरसभाबाट पास गर्यौं । अहिलेसम्म केही भएको थिएन । नगरसभाबाट पास भएपछि इन्ट्रिको काममा लागेका छौं । त्यो भएपछि पूर्णरुपमा सुरुवात हुन्छ । हामीले सोचे अनुरुप नै बजेट खर्च हुने अनुमानमा छौं ।
नागरिकका माग सम्बोधनका नाममा जनप्रतिनिधिहरुले टुक्रे कार्यक्रमहरुमा जोड दिनु एउटा बाध्यता अथवा राजनीतिक उद्देश्य पनि होला तर पनि स्पष्ट नतिजा नदिने कार्यक्रमहरुलाई निरुत्साहित गर्न उहाँहरुलाई कत्तिको घचघच्याउने गर्नुभएको छ नि ?
हामीले जहिले पनि उहाँहरुलाई टुक्रे योजनाहरुमा जोड नदिउँ भनिरहेका हुन्छौं । पर्याप्त स्रोत नभएको अवस्थामा ठोस प्रतिफल दिने योजनामा बढी जोड दिनुपर्छ भन्ने कुरामा प्रमुख लगायतका सबै जनप्रतिधिहरुले बुझ्नु भएकै कुरा हो । त्यसमा पनि सबैभन्दा नजिकको सरकार भएकाले जनताको माग धेरै छ जसले गर्दा त्यसलाई पुरै निरुत्साहित गर्न सकिएको अवस्था भने छैन । हामी कर्मचारीले त उहाँहरुलाई सुझाब र सल्लाह दिनेमात्रै हो ।
पछिल्लो समय स्थानीय तहका गतिविधिमा नागरिक सहभागिता घट्दै गएको, अपनत्व र संरक्षणमा चासो नदेखिनु एउटा समस्या छ भनिन्छ भने अर्कोतिर उपभोक्ता समितिमा पनि विचौलिया हावी हुँदै गइरहेको भन्ने कुराले स्थानीय तहको विकासमा कस्तो खालको बाधा पारिरहेको अनुभूति गरिहनुभएको छ ?
उपभोक्ता समितिबाट हुने कामका सवालमा पनि हामीले अनुगमन गरिरहेका हुन्छौं । काहिँकतै त्यस्तो गुनासो आएमा हाम्रा प्राविधिकहरुबाट त्यसको परीक्षण हुने गर्दछ । यदाकदा त्यस्ता घटनाहरु नसुनिएका होइनन् तर हाम्रोमा उपभोक्ता समितिमा बिचौलिया हावी भएको भनेर त्यस्ता गुनासा आएका छैनन् ।
त्यसो त जनप्रतिनिधिहरुले पनि विशेषगरी छिटो परिणाम दिने पूर्वाधार निर्माण बढी जोड दिनु त्यसबाहेक मानव विकास र क्षमता अभिवृद्धिका कार्यक्रमहरुलाई पनि सँगसँग त्यतिधेरै समेट्न नसक्नुले विकासका गतिविधि प्रभावकारी हुन नसकेका हुन् कि जस्तो लाग्दैन, तपाइँलाई ?
चन्द्रपुरको हकमा यहाँ पूर्वाधार निर्माणको काम धेरै भइसकेको छ । अरु अरु ठाउँको तुलना गर्दा त यहाँ धेरै नै विकास भएको छ । केही केही त लाभग्राहीको हिसाबले पनि कार्यक्रम परेका हुन्छन् । तर जनप्रतिनिधिहरुलाई पनि यो थाहा छ कि पूर्वाधारको विकासले मात्रै हुँदैन त्यसमा सामाजिक विकासलाई पनि अब सँगसँगै बढाउनुपर्छ भन्ने भएकाले नै हामीले एउटा क्षेत्रमात्रै नभएर स्वास्थ्य, शिक्षा, रोजगारी, क्षमता विकासका कुराहरुलाई पनि उत्तिकै महत्व दिएका छौं ।
आमनागरिकको सशक्तिकरणको लागि आयआर्जन बढाउने सीप विकास, लघु उद्यम प्रवर्द्धन, सहकारी सहयोग र बजार व्यवस्थापनका लागि स्थानीय सरकारले के कस्ता पहल गरिरहेको छ ?
नागरिकको आयआर्जनका लागि हामीले बेलाबेलामा सीपमूलक तालिमका कार्यक्रमहरु पनि राखेका छौं । हाम्रो सहरी विकासतिरको कार्यक्रम बिपन्न, महिला, अशक्त लक्षित नै हुन्छ । त्यसमा हामीले ड्राइभिङ, प्लम्बिङ, इलेक्ट्रिसियन, पशु पालन, कृषिमा तरकारी खेतिका लागि आवश्यक सहयोग गरिरहेकै छौं । मल, विउविजन, प्राविधिक सहयोगका कार्यहरुलाई निरन्तरता दिइरहेका छौं । यहाँबाट तालिम लिएर मान्छेहरुले बाहिर गएर पनि आम्दानी गर्न सकुन् भन्ने उद्देश्यले हामीले वैदेशिक रोजगारीदेखि लिएर स्वदेशी रोजगारीसम्मको अवस्थालाई मध्यनगर गरेर विभिन्न तालिम दिइरहेका छौं ।
स्थानीय तहमा वर्षेनी बेरुजु र आर्थिक पारदर्शिताका सवालमा ओभरसाइट एजेन्सीहरुले प्रश्न उठाइरहँदा सामाजिक जवाफदेहिताको लागि प्रशासनिक तहबाट कत्तिको सजगता अपनाउने गर्नुभएको छ नि ?
हाम्रोमा बेरुजुको भोलुम अन्य ठाउँको तुलनामा अलि कमै छ । कामको सवालमा पनि गुणस्तरमा कुनै सम्झौता हुँदैन । सैद्धान्तिक बेरुजु भने अलिअलि आउँछ त्यसलाई पनि हामीले छलफलको माध्यमबाट आवश्यक प्रक्रिया पुर्याएर घटाउने प्रयास गरिरहेका छौं ।
नगरपालिकाले योजना बैंकमार्फत विकासका कार्यक्रमहरु कार्यान्वयनमा कत्तिको जोड दिएको छ नि ?
योजना बैंक बनाउने कुरा पनि भइरहेको छ । अहिलेसम्म जे जसरी योजना कार्यान्वयन भए त्यो भइहाल्यो तर सीमिति स्रोतको कारणले अब चाहिँ हामीले यो वर्ष यो कार्यक्रम गर्ने अनि अर्को वर्ष त्यो कार्यक्रम गर्ने भनेर अगाडि बढ्दा विकासलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन सजिलो हुन्थ्यो भन्नेचाहिँ हो । ठूला ठूला योजना त स्रोतको कारणले पनि नगरपालिका आफैंले संचालन गर्न सक्ने अवस्था हुँदैन तर साना साना योजनालाई एकीकृत गर्दै प्राथमिकता निर्धारण गरेर योजना बैंकमार्फत कार्यान्वयन गर्न सक्दा अझ राम्रो हुन्थ्यो भन्नेचाहिँ हो ।
समृद्धि पालिका र सवल नागरिकको लक्ष्य पूरा गर्न चन्द्रपुर नगरपालिकाले अबका वर्षमा चाहिँ कस्ता विषयलाई समेट्नुपर्ने देख्नुहुन्छ नि, तपाइँले ?
अबका वर्षमा चन्द्रपुरको समग्र विकासको लागि जनमुखी कार्यक्रमलाई नै जोड दिनुपर्छ । हामीले त्यही कुरा जनप्रतिनिधिहरुलाई पनि भनिरहेका छौं । उहाँहरुले विकास निर्माणका जुनै पनि कार्यक्रमहरु बनाउनुहुन्छ ती कुराहरु जनता अथवा समाजबाट आओस्, टोलटोलबाट आओस् त्यस्तो खालको योजनालाई जनप्रतिनिधिहरुले प्राथमिकतामा राख्नुपर्छ । वडामा बसेरमात्रै योजना छनौट गर्नुभएन । टोल टोलबाट योजना आउनुपर्यो ती कुरालाई हामीले जनप्रतिनिधिहरुलाई पनि पटक पटक भनिरहेकै छौं । अहिले ती कुराहरु सिष्टममा गइरहेका छन् । उहाँहरु पनि आफ्नो क्षेत्रको विकासमा प्रतिवद्ध देखिनु भएकाले टोल कमिटीबाटै योजना आउनुपर्यो । अनिमात्र नागरिकले विकासको अनुभूति प्राप्त गर्न सक्छन् भन्ने मलाई लाग्छ ।
